
रञ्जन अधिकारी पोखरा, ६ असोज
वरिपरि हरियाली सफा जताततै,
झुप्राझाप्री बगरबस्ती हुनेछैनन् कतै ।
रिङरोडमा सररर गाडी सुस्तरी गुड्नेछन्,
वाटिकामा चरीहरु मस्तरी उड्नेछन् ।
सुन्दर, शान्त, सभ्य यो भूमि बन्नेछ
यहाँ आउने हरेक मनले जाउँ पोखरा भन्नेछ ।
सुन्दरभूमि पोखराको यस्तो कल्पना गर्दै बिदाईको हात हल्लाउँदैछन् पुनरावेदन अदालत पोखराका न्यायाधीश डिल्लीराज आचार्य । यहाँ तीन वर्ष एक महिनाको बसाईंमा उनले पोखराकै नाममा मात्र दुई दर्जन बढि गीत, कविता कोरे । कतै पोखरालाई आफ्नी प्रियसी ठान्दै, कतै यहाँको विकास, समृद्धिमा चासो जनाउँदै, यहाँका सुन्दर मनहरुको प्रशंसा गर्दै त कहिले यस्तै यस्तै सुन्दर भविष्यको सपना साँच्दै । पोखरालाई उनको जति माया छ, पोखरेलीले पनि उति नै माया गरे । हेटौंडा सरुवा भएपछि पछिल्लो साता उनलाई यहाँका नागरिक स्तरबाट आयोजित बिदाई कार्यक्रममा सहभागिता जनाउनै भ्याईनभ्याई छ । कारण एउटै हो, उनी अदालत प्राङ्गणमा मात्र सीमित रहेनन्, नागरिकसँगै रिझिन सके, भिज्न सके । उनको साहित्य अभिरुचिले पनि यसलाई मजलज गरेको पक्कै हो । तर, उनी पोखरेलीले बिदाई गरेको मान्न कदापी तयार रहन्नन्, उनी शुभयात्रा कार्यक्रम गरेको भन्ठान्छन् ।
सोमबार मानवअधिकार पत्रकार संघ (हुर्जा) कास्कीको शुभकामना तथा शुभयात्रा कार्यक्रममा उनी पोखरेलीले गरेको माया सम्झेर रोए । खल्तीको रुमाल नै झिकेर आँशु पुछे । पोखरेली साहित्यकार असफल गौतमको उनकै लागि तयार पारिएको गीतले छोयो । संघका कोषाध्यक्ष असफलले गीतमार्फत नै धन्यवाद ज्ञापन गरेका थिए । ३५ वर्षे यो सेवा अवधिमा २१ औं पटक हेटौंडामा सरुवा भएको जनाउँदै न्यायाधीश आचार्यले आÇनो ईमान्दारिताका कारण अरुलाई हुने छटपटिले १० पटक सरुवा भएको सुनाए । दुई वर्षभित्र पाँच ठाउँमा सरुवा भएको सुनाईरहँदा उनले थपे– ‘सरुवासँग डराउने, दवाव, प्रभाव र अभावमा हराउनेले राष्ट्र सेवा नै गर्न सक्दैनन् नि ।’ पोखराको बसाईं विशेष रहेको र आफूले पोखरालाई सधैं मिस गरिरहने बताउँदै आचार्यले थपे– ‘ईजलाश बाहिर कृति यही भूमिमा रहँदा निस्कियो । जहाँ जान्छु पोखरेलीको माया पाएको छु । यो युगमा जहाँ रहेपनि मनले त नजिकै रहन्छौं ।’
आचार्य भन्छन् – ‘पोखरामा टेक्नेहरु आयाराम गयाराम नहुन्, खायाराम र हराम हुन खोजे पोखराले दण्ड दिनेछ भन्ने पार्नुपर्छ ।’ उनले कसैमा लज्जाबोध नभएरै हामी जहाँको तहिँ रहेको उल्लेख गरे । ‘संविधान बनाउन नसक्नेहरुमा लज्जाबोध देखिएन । न्यायालयमा पनि राजनीतिक रंग र ढंगले चलाउन खोज्नेलाई खबरदारी गर्नुस् ।’ उनले भने– ‘पार्टी पत्रकारिता कि व्यवसायिक पत्रकारिता, दलगत अधिकारकर्मी कि मानव अधिकारकर्मी ? बहुरुपी भएर चल्नुभएन ।’
धनसुन, मनसुन र भनसुनमा बिक्नेहरु समाजको अभिषाप भन्दै उनले जबसम्म काममा बेईमानी हुँदैन कोहिसँग झुक्नु नपर्ने बताए । खँस्कदो नैतिक धरातलप्रति चिन्ता दोहो¥याउँदै उनले बढ्दो लागूपद्धार्थ दुव्र्यसन, भ्रुणहत्या, बाबुआमालाई अपहेलना, लाहुर प्रवृत्तिले आफूलाई चिन्तित तुल्याएको भन्दै गुनासो पोखे । आचार्यले कमाऊ संस्कृतिको विरुद्ध लागेर थोरैभएपनि सामाजिक बन्न आग्रह गरे ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय पोखराका प्रमुख डा. टीकाराम पोख्रेलले जनतालाई सहि न्याय दिन जनतामा नै घुलमिल हुन जरुरी रहेको बताउँदै न्ययाधीश आचार्यमा मानवअधिकारमैत्री निर्णय गर्न सक्ने क्षमता बताए ।
स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले न्यायधिष आचार्य स्वतन्त्र वकालत गर्ने, बहुआयामिक व्यक्तित्व भएको बताउँदै प्रेस क्षेत्रसँगै समाजमा स्मरणीय कार्य गरेको भन्दै प्रशंसा गरे । ‘अदालत बाहिर निस्कने आँट कसैले नगर्दा उहाँ बाहिर निस्केर सत्य र न्यायका क्षेत्रमा अडिग रहनुभयो ।’ बास्तोलाले भने– ‘स्वतन्त्र अभिव्यक्तिकै कारण कारबाहीमा पर्नुहुन्छ कि भन्ने डर पो थियो । तर साहित्यिक क्षेत्रमा समेत क्रियाशील रहँदै नागरिकसँग सधैं निकट भईरहनुभयो ।’
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका प्रमुख शिव खकुरेलले न्यायाधीश आचार्य आफ्नोभन्दा पनि मानवअधिकार र सच्चा न्यायको संरक्षणमा केन्द्रित रहने गरेको बताए । महिला मानवअधिकार रक्षक सञ्जाल कास्कीकी अध्यक्ष सरला कुमारी पाण्डेले न्यायाधीश आचार्यको सामिप्यताले कानुन र नागरिकबीचको सामिप्यताको बढाएको बताईन् । हुर्जा कास्कीका अध्यक्ष राजेश पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा पुनरावेदन बार पोखराकी अधिवक्ता भुवन पराजुली, जनप्रिय बहुमुखि क्याम्पसका उपप्राध्यापक वेदहरि तिमिल्सिना,सुनास कास्कीका संयोजक पुण्य पौडेल, नागरिक समाज पोखराका अध्यक्ष रामबहादुर पौडेल, जिल्ला अदालत वारका सचिव दिपक पौडेल, हुर्जा कास्कीका उपाध्यक्ष अर्जुन गिरी, महासचिव वीरेन्द्र सापकोटाले बोलेका थिए । सो अवसरमा नजिकिरहेको नेपालीहरुको महानपर्व विजयादशमी तथा दीपावलीको शुभकामना आदानप्रदान पनि गरिएको थियो ।

