
रञ्जन अधिकारी पोखरा, ११ असोज / पोखरा जेसीजले शनिबार एक कार्यक्रमको आयोजना गरी स्थायी अनुमति प्राप्त नयाँ सदस्यहरुलाई स्वागत तथा महान पर्व शुभविजयादशमीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।
पोखरा जेसीज वर्ष २०१४ का अध्यक्ष तिलकराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा लेडी जेसीज वर्ष २०१४ की अध्यक्ष लक्ष्मी गुरुङ, पोखरा लेडी जेसीज वर्ष २००८ की अध्यक्ष एवं नेपाल जेसीज वर्ष २००९ की उपाध्यक्ष सुनयना पालिखे, नेपाल जेसीजका पूर्व अध्यक्ष राजु केसी, नेपाल जेसीज राष्ट्रिय कार्यकारी उपाध्यक्ष एवं पोखरा लेडी जेसीजकी पूर्व अध्यक्ष संगीता पौडेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । महासचिव धर्मराज अर्यालले कार्यक्रम संचालन गरेका थिए भने कार्यक्रम संयोजकद्वय बिनोद मरासिनीले स्वागत र डा. नवराज लम्डारीले धन्यवाद ज्ञापन गरेका थिए ।
पोखरा जेसीजले हालै समुदाय लक्षित कार्यक्रम अन्तर्गत तीन दिनसम्म अन्र्तक्रिया, दन्त शिविर र वादविवाद प्रतियोगिताको आयोजना गरेको थियो । युवाको नेतृत्व तथा व्यक्तित्व विकासमा चालिस वर्षदेखि क्रियाशील पोखरा जेसीज नेपाल जेसीज अन्तर्गत मुलुककै एक उत्कृष्ट शाखा हो । पोखरा जेसीजमा ४० वर्ष उमेर मुनिका पोखरामा रहेका विभिन्न क्षेत्रमा कार्यरत एक सय बढि स्वरोजगार युवाहरुको सहभागिता छ ।
