सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा, जिल्ला समन्वय समिति कास्कीमा भट्टराई

Share:

रञ्जन अधिकारी पोखरा, ११ असोज / सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा, जिल्ला समन्वय समिति कास्कीले विष्णुबहादुर भट्टराईको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार सम्पन्न नवौं साधारणसभा तथा पाँचौ अधिवेशनले प्रथम उपाध्यक्षमा ध्रुबहादुर क्षेत्री, द्वितीय उपाध्यक्षमा सोमनाथ बास्तोला, महासचिवमा चक्रपाणी सुवेदी, सचिवमा प्रेमबहादुर कार्की, कोषाध्यक्षमा सीता अधिकारीलाई चयन गरेको हो । यस्तै, सदस्यहरुमा दुर्गादेवी पहारी, दुर्गा पहारी, खिमराज लामिछाने पुरानै अनुहारलाई दोहो¥याएको छ भने अन्य नयाँ सदस्यहरुमा गौतम विजुक्छे, दानबहादुर बस्नेत र धनबहादुर बिक रहेका छन् ।

यसअघि, साधारणसभाको उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि पश्चिम क्षेत्रीय प्रहरी कार्यालय, पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक बमबहादुर भण्डारीले नागरिकको सेवाकै लागि समुदाय र प्रहरी मिलेर अघि बढेको बताए । ‘सामुदायिक सेवा केन्द्रमा काम गर्नेहरु विशुद्ध मानवीय भावनाले ओतप्रोत भएका, कुनै वर्ग समुदाय राजनीतिबाट मुक्त भएर तटस्थ रहेको हुनुपर्नेछ ।’ भण्डारीले भने– ‘कास्कीको सामुदायिक सेवा केन्द्र सक्रिय छ । राम्रो काम गरेको छ । उच्च कामको मुल्यांकन गर्दै हार्दिक धन्यवाद दिन चाहन्छु ।’

विशेष अतिथि गण्डकी अञ्चल प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक बलराम शर्मा पौडेलले हालै पोखरा आएकाले यहाँ सामुदायिक सेवा केन्द्रको गतिविधिलाई आफूले प्रत्यक्ष हेर्न नपाएपनि सबैबाट प्रशंसा गरेकोमा यसरी नै अघि बढ्न आग्रह गरे ।

समितिका संस्थापक अध्यक्ष मंगलबहादुर नेपालीले केन्द्र स्थापना गर्दा पुलिसका जासुसीका रुपमा हेर्दै असहयोग गर्नेहरु पनि अहिले सकारात्मक बनेकोमा खुशी व्यक्त गर्दै राजनीतिको थलो बन्न नदिने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा निवर्तमान अध्यक्ष सीता गुरुङ, सल्लाहकार प्रा.डा. दिलबहादुर क्षत्री, मानवअधिकारबादी नेता टेकनाथ बराल, सामुदायिक सेवा केन्द्र पृथ्वीचोकका अध्यष चीरञ्जीवि श्रेष्ठ, एमाले क्षेत्र नं. ३ अध्यक्ष धनबहादुर घले लगायतले बोलेका थिए ।

समितिका अध्यक्ष लालबहादुर श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभामा महासचिव विमलबहादुर कार्कीले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष सीता अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रथम उपाध्यक्ष विष्णुबहादुर भट्टराईले स्वागत तथा सचिव चक्रपाणी सुवेदीले कार्यक्रमको सञ्चालन गरेका थिए ।

जिल्ला समन्वय समिति अन्तर्गत कास्कीमा हाल ६ वटा केन्द्र सञ्चालित छन् । लेखनाथ, कालिका, माटेपानी, पृथ्वीचोक, बैदाम र बगरमा केन्द्र स्थापना भएको हो । कार्यक्रममा ६ वटै केन्द्रका नवनिर्वाचित अध्यक्षहरुलाई सम्मानका साथै एसएसपी बलराम शर्मा पौडेल तथा सल्लाहकारहरुलाई सम्मान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: