पोखरा, ८ कात्तिक / संस्कृति र परम्पराका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यका साथ पश्चिमाञ्चल होटल संघ पोखराले मंगलवार आयोजना गरेको आठौं भाइटिका महोत्सव २०७१ मा विभिन्न देशका ३५ पर्यटकले सहभागिता जनाएका छन् ।
महोत्सवमा वेलायत, अमेरिका, चीन, फ्रान्स, जर्मनी लगायतका देशका महिला तथा पुरुष पर्यटकले भाग लिएका थिए । पोखराको लेकसाइड स्थित बटरफ्लाई चाइल्ड केयर सेन्टरको प्रागंणमा कार्यक्रम आयोजना गरिएको थियो । रेन्वो चिल्ड्रन होम नेपालका छात्राहरुले महोत्सवका सहभागी विदेशी पर्यटकलाई भाइटिका लगाइदिएका थिए ।
जर्मनीबाट आएका पर्यटक विल्याण्ड सनरले भाइटिका महोत्सवमा टिका ग्रहण गर्न पाउँदा आफूलाई नौलो अनुभुति भएको प्रतिक्रिया दिए । रंगीविरंगी टिका, मानिसहरुको सौहार्दपूर्ण व्यवहार र देउसी भैलो खेल्ने परम्पराबाट म साँच्चै नै प्रभावित भएँ, उनले आफ्नो अनुभव सुनाए । टिका लगाउने बेला तोरीको तेलमा डोवेको दुवो टाउकोमा घुमाएको, कलसमा पानी लिएर सहभागीलाई गोलाकार घेराले छेकेको अनि सयपत्री माला पहिरिएको अनुभव आफूले भुल्न नसक्ने उनले बताए । यस्तो प्रकारको कार्यक्रमले नेपालको पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने विश्वास व्यक्त गर्दै उनले आफू पहिलो पटक नेपाल आउँदा यसरी टिका लाउन पाउनु जीवनकै नौलो अनुभव रहेको सुनाए ।
देशविदेशमा नेपाली परम्परा र संस्कृतिको प्रचारप्रशार तथा यसैको माध्यमबाट बढी भन्दा बढी पर्यटक नेपाल भित्र्याउने उद्धेश्यका साथ संघले यसप्रकारको महोत्सव आयोजना गरेको संघका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले जानकारी दिए । आपसी भाइचार बढाउन समेत सघाउने यसप्रकारको महोत्सवलाई आगामी वर्षहरुमा पनि संघले निरन्तरता दिने उनले बताए । महोत्सवमा पर्यटकलाई नाचगान तथा देउसीभैलो कार्यक्रममा सहभागी गराउँदा उनीहरु निकै उत्साहका साथ सहभागी भएको महोत्सवका संयोजक दीपक श्रेष्ठले बताए । अन्त्यमा नेपाली खाना समेत पर्यटकलाई पस्किएर रमाइलो कार्यक्रममा सहभागी गराइएको उनले सुनाए ।
गत वर्ष आयोजित यस्तै महोत्सवमा ३० विदेशीले सहभागिता जनाएका थिए । कतिपय पर्यटकहरु दोहो¥याएर समेत भाइटिका लगाउन पोखरा आउने गरेको संघका प्रथम उपाध्यक्ष भरतराज पराजुलीले बताए । भाइटिका संघले सुरु गरेको नौलो कार्यक्रम भएको र यसले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास संघका महासचिव लक्ष्मण सुवेदीले व्यक्त गरे । विदेशीहरुलाई टिका लगाइदिएपछि नेपाली परम्परा अनुसार उपहारहरु विदेशी दाजूभाइ तथा दिदी बहिनीलाई प्रदान गरिएको थियो ।
सो अवसरमा विद्यार्थीले द्यौसी गीत र नाच प्रस्तुत गरेका थिए । अन्त्यमा सबै पर्यटक पनि सामूहिक नृत्यमा सहभागी भई रमाइलो गरेका थिए । संघले आयोजना गरेको यस्तो कार्यक्रमले देश विदेशमा नेपालको पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने मात्र नभई नेपाली संस्कृतिको सम्वद्र्धनमा समेत टेवा पुग्ने विश्वास संघले गरेको छ ।
