प्रधानमन्त्रीले भाईटीका ग्रहण गर्दै भनेः संविधान दिने बाचा पुरा गर्छु

466
0
Share:

काठमाडौं, कार्तिक ८ । प्रधानमन्त्री सुशील कोइरालाले आफ्नी दिदी आभा र बहिनी शशी शर्माको हातबाट भाईटीका ग्रहण गरेका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा ११ बजेर ३५ मिनटको शुभसाईतमा उनले भाई टिकाग्रहण गरेका हुन् । भाईटीका ग्रहण गर्दै कोइरालाले नेपाली दिदीबहिनी र दाजुभाईको शुभसाईतको शुभ आर्शिवादबाट लोकतान्त्रिक संविधान दिने आफ्नो वाचा पुरा हुने बिश्वास व्यक्त गरेका छन् ।

सबै नेपाली दिदी बहिनी र दाजुभाईको तोकीएकै समयमा लोकतान्त्रिक संविधान पाउने चाहना यस पटक पुरा हुने भन्दै कोइरालाले त्यसका लागि आफूलाई सम्पूर्ण नेपालीको आर्शिवाद पाएको बताए । दिपावलीको यस घडिमा सबै देश बिदेशमा रहनुभएका नेपालीहरु प्रति शुभकामना व्यक्त गर्दै कोइरालाले दिगो शान्ति, सुरक्षा र स्थाईत्वको लागि आफ्नो प्रतिवद्धता दोहो¥याए । दिदीवहिनीहरुले भने सबैको भावना समेटेर नेपाली जनतालाई संविधान दिन प्रधानमन्त्री कोइरालालाई आर्शिवाद दिएका छन् ।

पूर्वराजा ज्ञानेन्द्र भन्छन्ः मेरो स्वास्थ्य ठिक भयो देशको विग्रियो

पूर्व राजा ज्ञानेन्द्र शाहले पनि आज शुभसाइतमा भाईटीका ग्रहण गरे । बहिनी शोभा राज्यलक्ष्मी देबी शाहको निवासमा पुगी पूर्व राजा ज्ञानेन्द्र शाहले भाइटीकाको १२ बजेर ३ मिनेट को शुभसाइतमा भाइटीका लगाएका हुन् । भाईटिका लगतै संचारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ पूर्व राजा शाहले आफ्नो स्वास्थ्यस्थिति ठिक भएको तर देशको स्वास्थ्य विग्रेको बताए ।

दलका नेताको भाइटीका

उपप्रधानमन्त्री एवम् गृहमन्त्री बामदेव गौतमले ललितपुरको भैँसेपाटीस्थित आफ्नै निवासमा माया केसी सहितका पाँचैजना दिदी बहिनीबाट टीका लगाउनुभयो ।
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले बोहोराटारस्थित आफ्नो आवासमा जेठी बहिनी कृष्णकुमारी आचार्यबाट ११:३५ बजेको शुभसाइतमा टीका लगाएर आशीर्वाद लिनुभयो ।

त्यस्तै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस केन्द्रीय सदस्य मीना पाण्डेबाट टीका लगाउनुभयो । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कुपन्डोलस्थित माइली बहिनी इन्दिरा न्यौपानेको घरमा दिदी कालिका भण्डारी र बहिनी वसुधा पोखरेलबाट टीका लगाउनुभयो ।

यस्तै एकीकृत माओवादीका नेता तथा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले विहान ललितपुरको सानेपास्थित आफ्नै निवासमा बहिनीको हातबाट टिका  ग्रहण गर्नुभएको छ ।  पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाले सानेपा पुगेर बहिनी मीनु कार्कीबाट टीका लगाउनुभयो । राप्रपा नेपालका अध्यक्ष कमल थापाले विशालनगरस्थित आफ्नै घरमा बहिनीहरू रीता थापा, वसु कार्की र मिन्टु विष्टबाट टीका लगाउनुभयो ।

कमेन्ट गर्नुहोस्
Share: