
काठमाडौं ११ कात्तिक । पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रिय स्तरको क्षेत्रीय विमानस्थल निर्माण हुने आशा पलाएको छ । विमानस्थल निर्माणका लागि चिनियाँ कम्पनी सिएएमसी इञ्जिनियरिङसँग भएको ठेक्का सम्झौता मन्त्रिपरिषदले अनुमोदन गरेपछि थप आशा पलाएको हो ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल’ निर्माणका लागि चिनियाँ कम्पनी सिएएमसी र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच भएको निर्माण सम्झौता सोमबार बसेको मन्त्रिपरिषद बैठकले अनुमोदन गरेको छ । सिएएमसी र प्राधिकरणबीच गत जेठ ८ गते दुईपक्षिय सम्झौता भएको थियो । सम्झौता भएको लामो समयसम्म मन्त्रिपरिषदले अनुमोदन नगर्दा थप काम अगाडी बढ्न सकेको थिएन् ।
‘अनुमोदनसँगै पोखरामा अन्तर्राष्ट्रिय स्तरको क्षेत्रीय विमानस्थल निर्माण हुने आशा पैदा भएको छ’ प्राधिकरणका प्रवक्ता विरेन्द्र कुमार श्रेष्ठले भने( ‘अब चिनियाँ एक्सपोर्ट९इम्पोर्ट ९एक्जिम० बैंकसँग लोन सम्झौताको काम अगाडी बढाउन सहज भएको छ ।’ ठेक्का सम्झौता गर्दा ४ महिनाभित्रमा एक्जिम बैंकसँग लोन सम्झौता गर्ने लक्ष्य राखिएको थियो । तर, मन्त्रीपरिषदले ठेक्का सम्झौता अनुमोदन गर्न करिव ६ महिना ढिला गरेपछि उक्त लक्ष्य विचैमा तुहिन पुग्यो ।
‘नेपाल सरकार अर्थमन्त्रालय र चीन सरकार एक्जिम बैंकसँग ऋण सम्झौताका लागि अगाडी बढ्नुपर्छ’ प्रवक्ता श्रेष्ठले भने( ‘उक्त बैंकसँग ऋण सम्झौता भएपछि ठेकेदारले विमानस्थलको नक्सा र डिजाइनको काम तत्काल अगाडी बढाउने छ ।’ सरकारलाई विमानस्थल निर्माणका लागि एक्जिम बैंकले सहुलियत उपलब्ध गराउने भएको छ ।
विमानस्थल निर्माणको कुल लागत २१ करोड ७० लाख डलर अर्थात २१ अर्ब ४७ करोड रुपैयाँ लाग्ने बताइएको छ । नागरिक उड्डयन प्राधिकरणले सन् २०१९ मा उक्त विमानस्थल सञ्चालनमा ल्याइसक्ने लक्ष्य राखेको प्रवक्ता श्रेष्ठले बताए । हाल पोखरामा आन्तरिक उडानमात्र हुँदै आएको छ । नयाँ विमानस्थल निर्माणपछि पोखरामा अन्तर्राष्ट्रिय उडानसमेत सुरु हुने बताइएको छ ।
पोखरामा क्षेत्रीय विमानस्थल निर्माणका लागि पोखरेलीहरुले सरकारलाई ठूलो दबाब दिँदै आएका छन् । विमानस्थल निर्माण गर्न दबाब दिँदै पोखराका पर्यटन व्यवसायी तथा सरोकारवालाहरु अनसन समेत बसेका थिए । उनीहरुले राजधानीमा समेत आएर विमानस्थल निर्माण गर्न सरकारलाई दबाब समेत दिएका थिए ।
सरकारले भैरहवामा पनि क्षेत्रीय स्तरको विमानस्थल निर्माण गर्दै छ । दुई स्थानमा क्षेत्रीय स्तरका विमानस्थल निर्माणपश्चात त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप समेत घट्ने अपेक्षा गरिएको छ । दुई विमानस्थल निर्माण सम्पन्न भएपछि पर्यटकको संख्यामा समेत वृद्धि हुने अनुमान गरिएको छ ।

