काठमाडौं, पुस १९ \ खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद(राखेप) को आन्तरिक विवादका कारण आगामी पुस २३ गतेदेखि थाईल्याण्डको फुकेटमा हुन गईरहेको १६ औं विश्व पेनकेक सिलात मार्शल आर्ट प्रतियोगितामा नेपालबाट राष्ट्रिय खेलाडी तथा प्रशिक्षकहरुलाई जानबाट बञ्चित भएका छन्।
नेपाल पेनकेक सिलात मार्शल आर्ट संघले शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै राज्यकै कारण प्रतियोगितामा आफूहरु सहभागी हुन नसक्ने अवस्था सिर्जना भएको आपत्ति जनाउँदै तत्काल खेलकुद मन्त्रालयले पहल लिए अझैपनि प्रतियोगितमा सहभागी हुन सक्ने स्पष्ट पारेको छ।
संघका अध्यक्ष लायन टी. ठकुरीले उक्त प्रतियोगिता नेपाली खेलाडीको लागि अत्यन्तै महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै सरकारले तत्काल प्रतियोगितामा सहभागी जनाउने वातावरण सिर्जना गर्नुपर्ने माग राखेका छन्। उनले भने–’मार्शल आर्ट खेल हरेक दृष्टिकोणले अत्यन्तै महत्वपुर्ण खेल हो, यसमा हाम्रो सरकारले किन ध्यान दिँदैन? हामीलाई आश्चर्य लागेको छ।’
उनले प्रतियोगितामा सहभागी हुन अझै तीन दिन बाँकी रहेको भन्दै आज र भोलिमा सरकारले ठोस कदम चालिदिए प्रतियोगितमा सहभागी हुन पाउने विश्वास व्यक्त गरे। उनका अनुसार मन्त्रालय र राखेपवीच खेलाडीलाई गर्ने आर्थिक, भौतिक लगायतका सेवा सुविधावारे तीव्र मतभेद रहेको छ तर उनी भन्छन्–’हामी खेलाडी त राष्ट्रको हो नि, किन उहाँहरु हाम्रो भविष्यमाथि खेलबाड गर्दैहुनुन्छ? हामीले बुझ्न सकेको छैन?’
ठकुरीले आफूहरु बाध्य भएर न्यायका निम्ति सञ्चारकर्मीसमक्ष आएको गुनसो पोखे।
समाजसेवी एवम पूर्व खेलाडी गृष्म लिम्बुले खेलाडीहरुलाई प्रोत्साहन गर्नका लागि पनि आफू व्यक्तिगत खर्चमा त्यस प्रतियोगितमा सहभागी हुन चाहेको धारणा राख्दै सरकारले यसप्रति सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताए। कार्यक्रममा संघका महासचिव राजकुमार श्रेष्ठले पनि धारणा राखेका थिए।
