एपीएफ सेमिफाईनलमा, एभरेष्ट एफसी हङकङ सडेन डेथमा पराजित

Share:

रञ्जन अधिकारी पोखरा, २८ पुस / दुई गोलले पछि परिसकेको अवस्थामा पनि खेलमा फर्किएर अतिरिक्त समयसम्म सम्हालिँदै सडेन डेथबाट नतिजा आफ्नो पक्षमा पार्दै विभागीय टीम सशस्त्र प्रहरीको एपीएफ मनकामना केबलकार पोखरा कपको सेमिफाईनल प्रवेश गरेको छ ।

एपीएफले आमन्त्रित टोली एभरेष्ट एफसी हङकङलाई सडन डेथमा ४–३ गोल अन्तरमा पराजित गरेको हो । दुई गोलले अग्रता लिएर पनि जोगाउन नसक्दा हङकङले पराजय व्यहोर्नुपरेको हो । एपीएफ धरान फुटबल क्लबलाई २–१ गोलले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो भने एभरेष्ट एफसी बाई पाएर सिधै क्वार्टरफाईनल खेलेको हो ।

विशाल राई र कर्ण लिम्बुको गोलको मद्धतले अग्रता लिएको हङकङको एभरेष्ट क्लब विरुद्ध मनबहादुर तामाङ र प्रदिप स्याङतानले गोल फर्काउँदै खेल अतिरिक्त समयतर्फ धकेले । थपिएको ३० मिनेटको समयमा पनि गोल हुन सकेन । एपीएफका लागि पाल्साङ लामा, आदित्य चौधरी, हेमन गुरुङ र अन्जन विष्टको प्रहार गोलमा परिणत भएको थियो । सुदिप सिखाकार र नविन लामा गोल गर्नबाट चुके । हङकङका लागि विजय धिमाल, योगेश गुरुङ र कर्ण लिम्बुले गोल गर्दा सुविन मैनाली, दिनेश कार्की र गोलकिपर दिनेश थापामगरको प्रहार खेर गएपछि प्रतियोगिताबाट विदाई लिन बाध्य भयो ।

पाँच मिनेटमा ३ गोल भएपछि पोखरा रंगशाला पुगेका दर्शक थप रोमाञ्चित बने । नगेन्द्र लिम्बुले प्रहार क्रसबारमा लागेर फर्किएको बललाई विशाल राईले खेलको ५६ औं मिनेटमा गोल गरे । खेलको ६० औं मिनेटमा गोलकिपर नभएको पोष्टमा कर्ण लिम्बुले एकल प्रयासमा अग्रता दोब्बर पारे । एक मिनेट नवित्दै एपीएफका लागि डिफेण्डर मनबहादुर तामाङले ओभर ल्यापमा पुग्दै सन्तोष श्रेष्ठको क्रसपासलाई सेकेण्ड बारमा हेडिङ गोल गरेपछि खेल प्रतिस्पर्धात्मक बन्यो । ९० औं मिनेटमा हेमन्त तामाङको क्रसपासलाई सदुपयोग गरेपछि प्रविण स्याङ्तानले गोल गर्दै खेल २–२ को अवस्थामा पु¥याएपछि अतिरिक्त समयतर्फ धकेलियो ।

‘५ मिनेट भित्रै दुई गोलले अघि भएपनि एक मिनेटमा गोल खानु नै दुर्भाग्य भयो । दिलेन लिम्बु घाईते हुुन नै दुर्भाग्यो ।’ हङकङका प्रशिक्षक चन्द्र गुरुङले भने । ‘भाग्यले साथ दियो । स्याङतानलाई मैदान छिराउनु नै खेलको लागि सही निर्णय भयो ।’ एपीएफका प्रशिक्षक कृष्ण थापाले भने ।

मंगलबार अन्तिम क्र्वाटरफाईनलमा आयोजक पोखरा ११ ले सशक्त टिम थ्रीस्टारसँग खेल्ने छ ।

कमेन्ट गर्नुहोस्
Share: