
काठमाडौं, २९ पुस-
एमाओवादीसहितको ३० दलीय मोर्चा र नेकपा माओवादीले आह्वान गरेको बन्दका कारण आज काठमाडौं उपत्यकाको जनजीवन प्रभावत बनेको छ । प्रहरीले बन्द गराउने हिँड्ने ८ जनालाई पक्राउ गरेको छ ।
बन्द सफल बनाउन प्रदर्शन गर्दै हिँडेका अजम्बर राई काम्बाङ, कर्ण बूढा मगर, रमेश राई, गोपाल राई प्रचण्ड पौडेल, नवराज गुरुङ, यज्ञकुमार राईलाई नारायणगोपालचोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, कोटेश्वरमा प्रदर्शन गरिरहेका बन्दकर्तालाई प्रहरीले तितरविर पारेको छ ।
सहमतिमा संविधान निर्माण गर्न तथा पहिचानसहितको संघीयता निर्माण गर्ने माग राखेर विभिन्न चरणमा आन्दोलन गर्दै आएका उनीहरुले मंगलबार उपत्यका बन्दको आह्वान गरेका छन् ।
बन्दका कारण सार्वजनिक सवारीका साधन गुडेका छैनन् भने प्रदर्शन गर्ने प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
