
काठमाडौं, माघ १६–
देश र नागरिकको हित र अधिकारका लागि जीवन बलिदान गर्ने शहीदप्रति सम्मान गर्दै देशभर आज शहीद दिवस मनाइँदै छ । नेपाली नागरिकलाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानिया राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवं लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जीवनको आहुती गरेका वीर सपूतहरूको सम्झनामा हरेक वर्ष शहीद दिवस मनाइने गरिन्छ ।
तर शहीद दिवस औपचारिकतामा मात्रै सीमित हुने गरेको गुनासो छ । वीर शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको सङ्घर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानमा शहीद दिवस मनाइएको हो ।
विक्रम संवत १९९७ माघ १० गते निरङ्कुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी नागरिकलाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुको खरीको रूखमा झुन्ड्याइएको थियो । त्यहीबर्ष माघ १३ गते सिफलमा धर्मभक्तलाई झुन्ड््याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गङ्गालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो ।
