नयाँ दिल्ली, फागुन २ – भारतको इतिहासमा नै पहिलो पटक सबैभन्दा धेरैको अन्तरमा निर्वाचन जितेको इतिहास निर्माण गर्न सफल आम आदमी पार्टीका प्रमुख अरविन्द केजरिवालले शनिबार मुख्यमन्त्रीको सपथ लिनु भएको छ । केजरीवालसँगै अरु ६ जना मन्त्रीले पनि पद तथा गोपनियताको सपथ लिएका छन् । दिल्लीको रामलिला मैदानमा सपथ लिए लगत्तै केजरिवालले अब आफ्नो र पार्टीको ध्यान दिल्लीको विकासमा केन्द्रित हुने बताउनुभयो । उहाँले आम आदमी पार्टीलाई तत्काल दिल्ली बाहिरका अरु राज्यमा विस्तार नगर्ने पनि बताउनुभयो ।
केजरीवालको दल आम आदमी पार्टीले भारतको इतिहासमा नै सबैभन्दा ठूलो विजय हासिल गरेको थियो । गत शनिबार सम्पन्न भएको नयाँ दिल्ली राज्यको विधान सभाको निर्वाचनमा उहाँको दल आम आदमीले ७० मा ६७ स्थान जितेको थियो । गतवर्षपनि उहाँको दलले नयाँ दिल्लीमा सरकार बनाएको थियो र मुख्यमन्त्रीमा उहाँ नै नियुक्त हुनुभएको थियो । तर त्यस समयमा उहाँले आफूले गर्न चाहेको काम गर्न नसकेको भन्दै ४९ दिनपछि आजकै दिन अर्थात १४ फेब्रुअरीका दिन राजिनामा दिनुभएको थियो । तर आफ्नो दलले अभूतपूर्व विजय हासिल गरेपछि शनिबार उहाँले दोस्रो पटक राज्यको मुख्यमन्त्रीका रुपमा सपथ लिनु भएको हो ।
केजरीवाल सपथका १० रोचक प्रसंग
केजरीवालको सपथ ग्रहण र सपथग्रहणपछि उनले समर्थकलाई गरेका सम्बोधनका १० रोचक प्रसंग यस्ता छन्।
१.रामलिला मैदानमा कारमा चढेर पुगे केजरीवाल : अघिल्लो पटक मुख्यमन्त्रीको सपथ लिन मेट्रो रेल चढेर गएका केजरीवाल यो पाली भने कारमा प्रहरीको स्कर्टिङमा निवासदेखि रामलिला मैदान पुगे।
२. राजघाट गएनन् : स्वास्थ्यको कारण देखाउँदै केजरीवाल राजघाट गएनन्। यसअघि उनी सपथ ग्रहण पछि महात्मा गान्धीलाई सम्मान दर्शाउन राजघाट जाने कार्यक्रम थियो।
३.केजरीवालले गाए, ‘इन्सानका इन्सानसे होती है भाइचारा’ गीतः गतवर्ष जस्तै यो वर्ष पनि केजरीवालले सपथ ग्रहणपछि बोल्दै गीत गाएका छन्। उनले गाएको गीत ‘इन्सानका इन्सानसे होती है भाइचारा’ मन्ना डेले पाइगम फिल्ममा गाएका थिए।
४. आप नामको पेय पदार्थ : सपथग्रहणका उपस्थित मानिसलाई ‘आप’ ब्राण्ड लेखिएको पेय पदार्थ बाँडिएको थियो। आप आम आद्मी पार्टीको संक्षिप्त रुप हो।
५.कंग्रेस र भाजपाका नेता सपथ ग्रहणमा गएनन् : केजरीवालले सपथ ग्रहणमा कंग्रेस र भारतीय जनता पार्टीका शीर्षनेतालाई पनि निम्तो दिएका थिए। तर, कंग्रेस र भाजपाका नेता सपथ ग्रहणमा गएनन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कार्यव्यस्तताले उपस्थित हुन नसकेको बताएका छन्।
६. छ जना मन्त्रीले पनि लिए सपथ : विभाग नछुट्याईका अन्य छ जना मन्त्रीले पनि केजरीवालसँगै सपथ लिएका छन्। सपथ लिनेमा मनिष सिसोडिया, सत्येन्द्र जैन, गोपाल राय, असिम मोहम्मद खान, सन्दिप कुमार र जितेन्द्र सिँह तमोर रहेका छन्।
७.विश्व क्रिकेटमा भारतीय टिमको जीतको लागि केजरीवालको शुभकामना : सपथ ग्रहण पछि केजरीवालले अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी विश्व क्रिकेट प्रतियोगितामा भारतको जीतको शुभकामना दिएका छन्। उनले भारतीय टिम विश्वकपको ट्रफीका साथ घर फर्कने विश्वास पनि व्यक्त गरेका छन्।
८.आप दिल्लीमा मात्र केन्द्रीत हुने : सपथ लिइसकेपछि केजरीवालले आफू र आफ्नो पार्टी पाँच वर्ष दिल्लीमा मात्र केन्द्रीत हुने बताएका छन्। गत वर्षको लोक सभा चुनावको परिणामलाई इंगित गर्दै उनले धेरै ठाँउमा जित्छौं भन्ने अहंकार राख्न नहुने बताए। उनले दिल्लीका जनताले आफूलाई विश्वास गरेकाले उनीहरुप्रतिको जिम्मेवारी पुरा गर्ने बताए।
९.दिल्लीबाट भिआइपी संस्कृति हटाउने चाहना : केजरीवालले भिआइपी व्यक्तिको सवारीका बेला सडकमा जनताले पाउने हैरानीलाई हटाउन चाहेको बताएका छन्। उनले युरोपका देशमा प्रधानमन्त्री बस स्टपमा उभिने उदाहरण दिँदै दिल्लीमा पनि त्यस्तै संस्कार ल्याउनुपर्ने बताएका हुन्।
१०. पाँच वर्षमा दिल्लीलाई भष्ट्रचारमुक्त बनाउने : केजरीवालले अन्ना हजारेको भष्ट्रचार विरोधी आन्दोलनको सम्झना गर्दै दिल्लीलाई भष्ट्रचार मुक्त बनाउने बताएका छन्। पहिलो कार्यकालमा पनि अरु पार्टीले यस विषयमा सहमति जनाएको र अहिले आप पार्टीकै बहुमत भएकाले ५ वर्षभित्र दिल्लीलाई भारतको पहिलो भष्ट्रचारमुक्त राज्य बनाउन सकिने केजरीवालको विश्वास छ।
(स्रोत : Ujyalo, Setopati, टाइम्स अफ इण्डियाको अनलाइन संस्करण)
