ओसिमको रहस्यमयी निधनको सत्य छानविनको माग गर्दै क्षेत्रीय र जिल्ला प्रशासनमा ज्ञापनपत्र

Share:

पोखरा, ३० चैत । नर्सिङ अध्ययनरत ओसिम गुरुङको रहस्यमयी निधनको बारेमा सत्यतथ्य छानविन होस् भन्ने माग राख्दै पोखरा नर्सिङ क्याम्पसका विद्यार्थीहरुले प्रशासन समक्ष माग गरेका छन् । उनीहरुले सोमबार पोखरास्थित क्षेत्रीय प्रशासन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा पुगेर घटनाको छानविन चाँडो होस् भन्ने दबाब सहित ज्ञापनपत्र पेश गरे ।

नवलपरासीमा घटेको घटनालाई लिएर त्यहाँको प्रशासनले पिडित पक्षलाई साथ नदिएको भन्दै क्याम्पसका विद्यार्थीहरुले यहाँस्थित क्षेत्रीय र जिल्ला प्रशाशनमार्फत गृह मन्त्रालयमा ज्ञापन पत्र पठाएका हुन् । उनीहरुले नवलपरासीस्थित प्रशासनले पिडकको पक्षमा वकालत गरेर कानुनको धज्जी उडाएको आरोप समेत लगाएका छन् ।

क्षेत्रीय प्रशासन कार्यालयमा पुगेका विद्यार्थीहरुले बुझाएको ज्ञापनपत्र सह क्षेत्रीय प्रशासक दिवाकर बाँस्तोलाले बुझेका थिए । उनले घटनाको बारेमा बुझेर त्यहाँस्थित प्रशासनलाई पिडकलाई कारबाही र पिडितलाई न्याय दिलाउन आफुले दबाब दिने बताए । त्यस्तै जिल्ला प्रशासन कार्यालय कास्कीमा पनि ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतमले सम्बन्धित ठाऊँमा विद्यार्थीहरुको मागलाई पु¥याउने जानकारी दिए ।

ओसिमको हत्या भएको दाबी गर्दै पोखरा नर्सिङ क्याम्पसका विद्यार्थीहरुले आईतबार मात्रै पोखरामा वृहत शान्ति ¥याली निकालेका थिए । प्रशासनसमक्ष ज्ञापन पत्र पेश गरिसकेपछि पनि सुनुवाई नभएको खण्डमा विद्यार्थीहरुले अझै दबाबमुलक कार्यक्रमहरु ल्याउने चेतावनी समेत दिएका छन् । सोमबार क्षेत्रीय र जिल्ला प्रशासन कार्यालयमा ओसिमका सहपाठी प्रतिभा रानाभाट र सुम्निमा लिम्बुसहित महिला हिंसा तथा बलात्कार विरुद्धको अभियानकी संयोजक सुस्मा पौडेल, पोखरा नर्सिङ क्याम्पसका प्रतिनीधि, विद्यार्थी संगठनका प्रतिनीधि र संचारकर्मीहरु पुगेका थिए ।

ओसिमको हत्या भएको र प्रशासनले हत्यारालाई बचाएको दाबी गर्दै परिवारले विगत दुई महिना यता लाश समेत उठाएको छैन । हत्या आरोपी मनोज गुरुङको परिवारले भने आफुहरुले हत्या नगरेको र ओसिम आफै आत्महत्या गरेको भन्दै आएको छ । अहिले हत्या आरोपी मनोज गुरुङ पुर्पक्षका लागि थुनामा छन् । र, अदालतले पनि अहिलेसम्म अन्तिम निर्णय नदिईसकेको ओसिमको परिवारले बताएको छ ।

कमेन्ट गर्नुहोस्
Share: