
धनगढी, २७ जेठ : गत वैैशाख ३ गते खोलामा नुहाउने क्रममा डुबेर कैलालीको अत्तरियामा दुई दिदीबहिनीसहित तीन बालिकाको ज्यान गयो ।
प्रचण्ड गर्मी छल्न खोलामा नुहाउन गएका १२ वर्षीया अस्मिता नाथ र उनकी आठ वर्षीया बहिनी अनिशा तथा १३ वर्षीया करिश्मा गिरी अत्तरिया नगरपालिका–१३ स्थित मनहरा खोलामा नुहाउदै गर्दा डुबेका थिए ।
दिउँसो घरमा कोही नभएको बेला खेल्दाखेल्दै घर नजिकै छेउमा रहेको खोलामा नुहाउन गएका उनीहरुले ज्यान गुमाउनु पर्यो । अस्मिता र अनिशा धनगढीस्थित एउटा स्कूलमा कक्षा ६ र कक्षा १ मा तथा करिश्मा अत्तरियामा कक्षा ७ मा अध्ययनरत थिइन् ।
जेठ ६ गते कोटातुल्सीपुरका नौ वर्षीय वीरेन्द्र चौधरी गर्मी सहन नसकी काँडा नदीमा नुहाउन गए, तर उनी फर्किएनन् । उनी कोटातुल्सीपुर उच्चमाविमा पढेर दिउसो घर फर्कने क्रममा नदीमा नुहाउन गएका थिए । प्रहरीले खोजतलास गर्यो, वीरेन्द्रको शव साँझ भटियो । जेठ ११ गते धनगढी नगरपालिका–१२ मा खुटीया नदीमा पौडी खेल्ने क्रममा अत्तरिया नगरपालिका–४, वनखेत का १९ वर्षीय रामसिंह धामीको बगेर मृत्यु भयो ।
गर्मी छल्न नदी, तालमा नुहाउन गएका कैलालीका धेरैले ज्यान गुमाइसकेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार तीन महिनामा मात्र नदी तथा तालमा नुहाउन गएका १३ जनाको ज्यान गइसकेको छ । पछिल्लो डेढ सातायता कैलालीको तापक्रम ४० देखि ४४.८ डिग्री सेल्सियस रहने गरेको छ । ‘गर्मी याममा प्रायः नजिकको ताल तथा नदीमा नुहाउन जाने क्रम बढी हुन्छ,’ कैलालीका प्रहरी प्रवक्ता डीएसपी विश्वराज खड्काले भने, ‘चैतदेखि जेठसम्म १३ जनाले ज्यान गुमाइसकेका छन् ।’ डीएसपी खड्काका अनुसार नदीमा नुहाउने क्रममा ज्यान गुमाउनेहरु बढी किशोरकिशोरी तथा युवायुवती रहेका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार गत साउनदेखि हालसम्म २३ जनाको पौडी खेल्ने क्रममा ज्यान गएको छ ।
जिल्लाको मोहना, खुटिया, कान्द्रा, कर्णाली, पथरैया, काढा लगायतका नदीमा बढी पौडी खेल्न जाने भएपनि पानीको सतह थाहा नपाएर तथा साथीहरुको लहलहैमा लागेर पौडी खेल्दा ज्यान जाने गरेको डीएसपी खड्काले बताए । ‘यो ठूलो घटना हो । यस तर्फ कसैको ध्यान जान सकेको छैन्,’ उनले भने, ‘साना बालबालिकालाई अभिभावकहरुले सम्झाई बुझाई गर्नुपर्छ । स्थानीय स्तरमा जनचेतनामूलक कार्यक्रम पनि आवश्यक छ । विद्यार्थीहरु विद्यालयदेखि घरफर्कने क्रममा साथीहरुको लहलहैमा लागेर नदी तथा तालमा नुहाउन जाने गर्नाले पनि बढी घटना हुने गरेको डीएसपी खड्काले बताए ।
गहिरो (कुण्डा) रहेको स्थानमा पौडी नखेल्न स्थानीय निकायले सूचना टास गर्नु पर्ने सरोकारवालाको भनाई छ । यो मौसममा गर्मी छल्न धेरैजसो नदी खोलामा गएर पौडी खेल्ने गर्छन् । यस्तो बेला नदी खोलाका अलावा घरमै नुहाउन तथा शितल भएको ठाउँमा बस्न विज्ञको भनाई छ । गर्मी छल्ने नाममा एकातिर ज्यानै जाने खतरा त छदैछ भने अर्कोतिर विभिन्न छालाजन्य रोग पनि लाग्न सक्ने भएकोले विशेष सावधानी अपनाउनुपर्ने चिकित्सकको सल्लाह छ ।
(ओएनएस) यमबहादुर बम, तस्विर : बासुदेब भट्टराई
