सशस्त्र प्रहरी र जनकपुर प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको सेमिफाइनलमा

Share:

पोखरा, जेष्ठ ३० । सशस्त्र प्रहरी र क्षेत्र नम्बर ७ जनकपुर प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

समूह ‘ए’को सशस्त्रले एक खेल खेल्न बाँकी छँदै क्षेत्र नम्बर ३ काठमाडौंलाई ६० रनले हराएर अन्तिम चारमा ठाउँ पक्का गरेको हो । शनिबार पोखरामा भएको खेलमा पहिले ब्याटिङ गरेको सशस्त्रले मधु थापाको अविजित ४४ रनको मद्दतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय १५ रन बनायो ।

जवाफमा काठमाडौंले १७ ओभर २ बलमा सबै विकेट गुमाएर ५५ रनमात्र जोड्न सक्यो । ‘प्लेयर अफ म्याच’ सरिता मगरले ६ रन खर्चेर ६ विकेट लिइन् । हारपछि पनि ४ अंकमा रहेको काठमाडौंको सेमिफाइनल प्रवेश सम्भावना कायमै छ ।

शनिबारै भएको अर्को खेलमा क्षेत्र नम्बर १ विराटनगरले क्षेत्र नम्बर ५ नेपालगन्जलाई ३ रनले हरायो । विराटनगरले वर्षाले असर पारेको खेलमा निर्धारित १८ ओभरमा ९ विकेट गुमाएर ७३ रन बनायो ।

जवाफमा नेपालगन्जले ७ विकेटको क्षतिमा ७० रनमात्र जोड्न सक्यो । दुबै टिमको समान २–२ अंक भएको छ ।

यता, शनिबारै चितवनमा भएको समूह ‘बी’को खेलमा ४ खेलबाट शतप्रतिशत नतिजा निकाल्दै जनकपुर एक खेल खेल्न बाँकी छँदै अन्तिम चारमा पुगेको हो ।

चौथो खेलमा जनकपुरले क्षेत्र नम्बर ९ धनगढीलाई १५ रनले हरायो । जनकपुरले प्लेयर अफ द म्याच ममता चौधरीको अविजित ३६ रनको मद्दतले ६ विकेटको क्षतिमा ८४ रन बनाएकामा धनगढीले ८ विकेटको क्षतिमा ६९ रनमात्र जोड्न सक्यो । हारपछि पनि ४ अंकको धनगढीको सेमिफाइनल प्रवेशको सम्भावना कायमै छ ।

शनिबारै भएको अर्को खेलमा क्षेत्र नम्बर २ वीरगन्जलाई २७ रनले हराउँदै क्षेत्र नम्बर ६ बैतडीले क्षेत्र नम्बर ४ भैरहवासँग समान २ अंकको बराबरी गर्दै सेमिफाइनल प्रवेशको सम्भावना कायमै राखेको छ ।

कमेन्ट गर्नुहोस्
Share: