
रञ्जन अधिकारी पोखरा, ३० जेठ /पोखरा बजार क्षेत्रमा पार्किङ शुल्क उठाउनेहरुबाट राम्रो व्यवहार नभएको गुनासो आईरहँदा उनीहरुलाई सचेत गराईएको छ । पार्किङ शुल्क काट्ने क्रममा सवारीधनीसँग बोली व्यवहार राम्रो नभएको, सम्झौता अनुसार सबैले ड्रेस र परिचयपत्र नबोकेको, लामो कपाल, चुल्ठे मुन्द्रे गेटअपले महिलाहरुलाई असहज भएको गुनासो आएपछि पार्किङ शुल्क उठाउने जिम्मा पाएको नाईस नेपाल, ट्राफिक प्रहरी र पोखरा उपमहानगरपालिका कार्यालयले पार्किङ उठाउने व्यक्तिलाई भेला गराई अभिमुखीकरण दिएको हो ।
सो अवसरमा उमेर नपुगेको किशोर तथा बालकहरुलाई पनि काममा खटाईएकोले बालश्रमको विरोध गर्दै ध्यानाकर्षण समेत गराईएको थियो । नाईस नेपालका प्रतिनिधि प्रेम कार्कीले सम्झौता अनुसार नै काम गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रमको अध्यक्षता समेत गरेका पोखरा उपमहानगरपालिका कार्यालयका वरिष्ठ अधिकृत ओमराज पौडेलले नाईस नेपालले सहमतिअनुसार गतिविधि गर्नुपर्नेमा जोड दिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक श्यामु अर्यालले सवारी धनीहरुले पनि व्यवस्थित पार्किङ गर्न आग्रह गरे । ‘नो पार्क जोनमा सवारी रोकिदिनुभएन । डबल पार्किङ गर्नुभएन । रोड मार्किङ गरिएको ठाउँमा मात्र पार्क गरी सभ्य नागरिक बन्नुप¥यो ।’ – अर्यालले भने– ‘पार्किङ निषेध गरिएको ठाउँमा अव्यवस्थित रुपमा पार्क गरिएका सवारीलाई हामी नियमानुसार उठाउन बाध्य हुन्छौं ।’ उनले पार्किङ अव्यवस्थित भएमा ट्राफिक व्यवस्थापनमा कठिनाई हुने र यसको प्रत्यक्ष मारमा सवारी चलाउनेहरु नै पर्ने भएकाले यसतर्फ सबैले सोच्न समेत आग्रह गरे । ‘मापसे सेवन गर्नेलाई हामी कारबाही गर्छौं । सवारीको स्वरुप परिवर्तन गर्ने, सिट क्षमता भन्दा बढि यात्रु चढाउनेहरु कारबाहीमा पर्नेछन् ।’ उनले थपे– ‘यो सबै सवारी चालक तथा यात्रुहरुको सुरक्षित यात्राकै लागि भएको हो । राजस्व उठाउनका लागि होईन । सकारात्मक तरिकाले बुझौं ।’
पोखरा उपमहानगरपालिका कार्यालयले गत मंसीर ७ देखि २०७३ असार मसान्तसम्म नाईस नेपाललाई एक करोड १७ लाख रुपैंयामा पार्किङको ठेक्का दिएको हो । मोटरसाईकलको प्रतिदिन ७ रुपैंया, कार तथा जीपको १५ रुपैंया, ट्याक्टर र पावर टिलरको १० रुपैंया, ट्याक्सी, माईक्रो र भ्यानको २० रुपैंया तथा बस, ट्रक, मिनिबसको २५ रुपैंया पार्किङ शुल्क तोकिएको छ । सवारीधनीहरुले महंगो भएको समेत गुनासो गरेका छन् भने कतिपय स्थानमा घरधनीहरुसँग समेत पार्किङ शुल्क लिन खोजेको भन्दै आलोचना हुँदै आएको छ ।
यस्तै, सेवाग्राहीहरुको भिड लाग्ने अस्पताल परिसर, सरकारी कार्यालय, विद्यालय क्याम्पस क्षेत्र वरपरसम्म समेत पार्किङ शुल्क लिईएकोमा चर्को आलोचना हुँदै आएको छ ।
सोहि अवसरमा पार्किङ शुल्क उठाउने कर्मचारीहरुलाई ट्राफिक सचेतना समेत प्रदान गरिएको छ । सहभागी करीब ८० जनालाई प्रहरी नायव निरीक्षक राजेन्द्र कार्कीले ४५ मिनेटको ट्राफिक नियम, पालना गर्नुपर्ने कर्तव्य विषयमा प्रशिक्षण दिएका हुन् ।
