घरभेटी र व्यवसायीबीच सम्बन्ध सुधारमा जोड

Share:

रञ्जन अधिकारी पोखरा, ५ असार / घरभेटी र व्यवसायीबीचको सम्बन्ध सुधार गर्नुपर्नेमा जोड दिईएको छ । अधिकांश व्यवसायीहरु भाडामा आफ्ना व्यापार व्यवसाय सञ्चालन गर्दै आएको र घरभेटीसँगको आपसी समझदारी नहुँदा समस्या आउने गरेको व्यवसायीहरुले गुनासो गरेका छन् ।

नेपाल राष्ट्रिय घरभाडा सरोकार समिति, कास्कीले शनिबार पोखरामा आयोजना गरेको वर्तमान अवस्थामा घरभाडा सम्बन्धी समस्या र समाधान उपाय विषयक अन्र्तक्रियामा सहभागीहरुले घर भाडा दिनेलिने सम्बन्धमा मुलुकमा ऐन नै व्यवहारिक नभएकाले समस्या आएको बताएका छन् । घरभाडा कर तिर्नुपर्ने भएकाले पनि घरभेटीहरु घर भाडामा दिँदा कानुनी ढंगले लिखित सम्झौता गर्न नचाहने गरेकाले पनि समस्या आएको उनीहरुको भनाई छ । यस्तै घर भाडामा दिने पक्षले पनि बैंकबाट ऋण लिएर घर बनाउने र सोहि अनुसार भाडा नआउँदा आफूहरुलाई कठिनाई भएको बताए । व्यवसायीहरुबीच नै खुट्टा तान्ने प्रवृत्ति भएकाले घरभेटीलाई एक्लै भेटेर बढि रकम दिन्छु भन्दा पनि व्यवसाय गर्दै आएकाहरु ठाउँ छाडेर हिँड्नुपर्ने बाध्यता रहेको उनीहरुको गुनासो छ ।

पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष मिनराज काफ्लेले घरभाडा लिनेदिने समस्या व्यवसायका क्रममा चर्को रुपमा देखिएको भन्दै सबै पक्षको आपसी समझदारीमा हल गर्नुपर्ने बताए । उनले मुलुकको ऐन नै व्यवहारिक नभएको, ऐन संशोधन पनि हुन नसकेको भन्दै घरभेटी र व्यवसायी बीचको सम्बन्ध सुधारको आवश्यकता औंल्याए । कृषि, आवास र व्यवसायिक क्षेत्र छुट्याएर सोहि अनुसारको भाडा निर्धारण गर्नुपर्नेमा उनले जोड दिए ।

क्षेत्रीय प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामजीप्रसाद कोईरालाले २०२० सालमा बनेको मुलुकी ऐन यो अवस्थामा व्यवहारिक नभएको र कार्यान्वयनको अवस्था पनि नभएकाले अब समयसापेक्ष ऐन निर्माण गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । पश्चिमाञ्चल होटल संघका अध्यक्ष भरतराज पराजुलीले विनाशकारी भुकम्पले पोखराको पर्यटन क्षेत्र पनि नराम्ररी प्रभावित भएकाले व्यवसायीहरु मारमा परेको र यो विषयमा घरभेटीहरु पनि आफु पनि नमर्ने गरी उचित निर्णय लिन आग्रह गरे । सो अवसरमा तीन दर्जन घरभेटीले बढिमा ६ महिनासम्म व्यवसायीबाट भाडा नलिने उद्घोष गरेको समेत जानकारी गराईएको थियो । वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी निरीक्षक विरेन्द्र गोदारले स्थायी तरिकाले नै समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै घरभाडा सम्बन्धमा होटल व्यवसायी तथा अन्य व्यवसायीसँगै डेरामा बस्नेहरुको पनि समस्या समाधान गर्न समितिलाई आग्रह गरे ।

कस्मेटिक संघ कास्कीका अध्यक्ष विष्णु बास्तोलाले घरभेटीकै कारण व्यवसायीहरु विस्थापित भएको घटना दोहोरिरहेको बताए । कपडा व्यवसायी एशोसियसनका यमनाथ तिमिल्सिनाले सबैको साझा समस्या भएकाले मिलेर समाधानको पहल गर्नुपर्ने बताए । फर्निचर व्यवसायी संघका हिरामणि पण्डितले समस्या जटिल रहेकाले सबै समेटेर अघि बढ्नुपर्नेमा जोड दिए । पत्रकार कमल पौडेल अथकले नेपाल राष्ट्रिय घरभाडा सरोकार समिति होटल व्यवसायीमाझ मात्र रहेर अन्य स्थानमा पुग्न नसकेको गुनासो गरेका थिए । औषधि व्यवसायी संघ गण्डकीका रामबहादुर केसीले लिखित सम्झौता भएमा व्यवसाय संचालनमा समस्या नआउने तर्क गरे । राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समितिका सचिव पार्वती पौडेलले दुवै पक्ष सहमतिमा आएर अघि बढ्नुपर्ने बताईन् ।

होटल स्वीस होमका घरभेटी शंकर तिवारीले आफ्नो भाई सरहको सम्बन्ध भएकाले व्यवसायीसँग भुकम्पले प्रभावित भएको अवस्थामा भाडा नलिने बताउँदै अरु व्यवसायीलाई पनि राम्रो सम्बन्ध बनाउन सुझाव दिए । समितिका अध्यक्ष यामनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहसचिव टेकनारायण पौडेलले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: