
रञ्जन अधिकारी पोखरा, ११ असार / पोखराको बीच भाग भएर बहने ८ किलोमिटर लम्बाईको फिर्के खोलाको अस्तित्व नै संकटमा परेपछि नागरिक समाजले यसको संरक्षणको लागि पहल थालेको छ । पोखरा वडा नं. २६ अधेँरी कुना भन्ने स्थानबाट सुरु भएको फिर्के खोला करीब ७ किमि अघि गएपछि मालपोत कार्यालय कास्की केहि माथि गैरीखेतमा बुलौदी खोलामा मिसिएपछि त्यसको एक किलोमिटर अघि फेवातालमा मिसिन्छ ।
फिर्के खोला प्रदुषण हुनाले त्यसको प्रत्यक्ष असर फेवातालमा परेकाले पनि यसको अस्तित्वका साथसाथै फेवातालको वातावरण संरक्षणमा पनि फिर्के खोलाका विषयमा गम्भीर बन्नुपर्ने नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेल बताउँछन् । फिर्के खोला केन्द्रित रहेर ‘किप क्लिन पोखरा’ अभियान नै संचालन गरी तत्काल काम सुरु गरिने योजना अघि सारिएको छ भने खोलाको दायाँबायाँ ग्रीन बेल्ट, पैदल तथा साईकल ट्रयाक निर्माण गरी फेवाताल सराङकोट साईकल यात्राको महत्वकांक्षी योजना पनि बनाईएको छ । तर, कुनै ठाउँमा २ मिटरमा खुम्चिएको फिर्केे खोलामा मापदण्ड मिचेर बनाईएको सयौं संरचना भत्काउन पोखरा उपमहानगरपालिकाले सक्ने कि नसक्ने भन्नेमा शंका गर्छन अभियन्ताहरु नै । भदौदेखि नै खोलाको सिमांकन गरी मापदण्ड विपरितका संरचना हटाउन समेत नगरपालिकालाई दबाब दिईएको छ ।
नागरिक समाज, पोखराले एक साता अघि फिर्के खोला संरक्षण गर्ने सम्बन्धमा जिम्मेवार निकाय पोखरा उपमहानगरपालिका कार्यालयलाई निवेदन गरेपछि अनुगमनका लागि एक समिति नै गठन भएको थियो र अनुगमन समितिले शुक्रबार भेलामा सहभागीबीच फिर्के तथा बुलौदी खोला अनुगमन प्रतिवेदन सार्वजनिक ग¥यो । एलजीसीडीपी, पोखरा उपमहानगरपालिकाका शहरी विकास विज्ञ टेकनाथ सापकोटाले अनुगमनका क्रममा फिर्के खोला अतिक्रमण भएर कुनै स्थानमा चार फिटमा खुम्चिएको, ढल मिसिएर तथा मिनि डम्पिङसाईट बन्दा खोलाको क्षेत्र नै छुट्याउन मुस्किल अवस्थामा रहेको बताए । ‘खोलाको मुहानदेखि यसको अन्तिम गन्तव्य फेवातालसम्मलाई हेर्दा खोला लगभग पुरै अतिक्रमणमा परेको भेटिएको छ ।’ उनले भने– ‘अबको पाँच वर्षसम्म पनि चुप लागेर बस्ने हो भने फिर्के खोलाका केहि भाग बाहेक सबै अतिक्रमणमा पर्नेछ । १० वर्षमा त खोला नै रहन्न ।’
सापकोटाले प्रस्तुत गरेको प्रतिवेदनमा अधेरी कुनामा मानवीय हस्तक्षेप देख्न नपाएपनि त्यसपछि भने अतिक्रमण सुरु भएको बताए । प्रतिवेदन अनुसार अर्चलबोटमा समाज भवर्न लगायतका संरचना निर्माण गरेर खोला पुरै माथिबाट छेकिएको अवस्था छ । बाग्लुङ हाई वे क्षेत्रमा खोला अतिक्रमण गरी घरहरु निर्माण भएका छन् । हाईवे पुल नजिकै एकतर्फ माटोले पुरेर अतिक्रमण भएको छ भने अर्को तर्फ डम्पिङ साईट बनेको छ । हिमालयन सस तथा भ्याली फुड प्रडक्टबाट निस्केका फोहोर फाल्ने ठाउँ पनि नदि नै रहेको प्रतिवेदनमा जनाईएको छ । भयरथान क्षेत्रमा समाज भवन निर्माण गरिएको छ र फोहोर खोलामै फालिएको छ । बराल समाजको घवन, अमरज्योति स्कुल र शैलेन्द्र ताङ्बेले घर निर्माण पनि अतिक्रमण नै गरी बनाएको प्रतिवेदनमा उल्लेख छ । लायन्स क्लब, राधाकृष्ण मन्दिर, गण्डकी बहिरा संघ, पोखरा ईन्जिनियरिङ कलेज, लाउण्ड्री, लिटिल स्टेप उच्च मावि तथा अन्य निजी घरहरु अतिक्रमण गरी बनाईएको छ भने ढलनाला तथा शौचालयका पाईपहरु खोलामा मिसिएको छ । बुलौदीको पनि मुहानदेखि अन्त्यसम्म उत्तिकै फोहोर रहेको प्रतिवेदनमा छ ।
भेलामा सहभागीहरुले पोखरा उपमहानगरपालिकाले कुरा मात्र गर्ने काम नगर्ने भन्दै फिर्के खोला अतिक्रमण गर्नेलाई तुरुन्त कारबाही प्रक्रिया अघि बढाउन आग्रह गरेपछि कार्यकारी अधिकृत उदयबहादुर रानाले अब फिर्के खोलाको काम अघि बढिसकेकाले काम सुरु नहुँदै शंका नगर्न आग्रह गरे । सबै पक्ष समेटेर अघि बढेमा मापदण्ड विपरित संरचना बनाउनेलाई कारबाही गर्न सजिलो हुने भन्दै उनले केहि समय लिएर प्रभावकारी काम सुरु गर्नुपर्ने बताए । मिचेर बनाईएका घरहरु भत्काउन जटिल हुने भन्दै उनले अभियान नै संचालन गर्नुपर्ने बताए । नापी विभागको सहकार्यम बुलौंदी फिर्के खोला सरोकार समिति नै गठन गरी उसकै नेतृत्वमा काम अघि बढाईने उनको भनाई छ ।
नागरिक समाज पोखराका संयोजक पौडेलले सुरक्षाकर्मी, नगरपालिका, टोलविकास संस्था, महिला समूह तथा क्लबहरु आफैं जवाफदेही भएर फोहोर फाल्नेहरु पक्रनुपर्ने र असुल रकमको केहि प्रतिशत प्रदान गरिने बताए । भेलामा नेकपा एमाले कास्की क्षेत्र नं. ३ का अध्यक्ष धनबहादुर नेपालीले जग्गा मिचिएको कुरा मात्र भएकोमा असन्तुष्टि जनाउँदै नियम मिच्नेलाई कस्तो कारबाही त ? भन्दै नगरपालिकामाथि प्रश्नचिन्ह उठाए । नियम मिच्नेलाई नगरपालिकाले समात्ने हो भने फोहोर गर्नेलाई आफूहरु समात्ने उनको भनाई छ ।
