ओलीद्वारा एमाओवादीको प्रशंसा, जनचाहाना अनुसार कै संविधान

Share:

पोखरा, ७ साउन।  नेकपा एमालेका अध्यक्ष के.पी शर्मा ओलीले एनेकपा माओवादीको प्रशंसा गरेका छन्। नेकपा एमाले कास्कीको प्रथम जिल्ला प्रतिनिधि परिषद् बैठकको पोखरामा विहीबार उद्घाटनगर्दै उनले एमाओवादीले उग्र सोचलाई त्यागेर संविधान निर्माणको बाटोमा आएकोभन्दै उसको प्रशंसा गरेका हुन्।
लामो समयसम्म एमाओवादीको कटु आलोचकमा रुपमा परिचित एमाले अध्यक्ष ओलीले एमाओवादी परिवर्तनहुदै गएको टिप्पणी गरे। सायद धेरैलाई अचम्म लागेको होला, म र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल सँगै बसेर १६ बुँदे सहमति गर्दा उनले भने – दाहालसँग मेरो कुनै व्यत्तिगत झगडा थिएन, एमाओवादीले गलत वीचार बोकेर अघि बढ्दा विरोध गरे, तर अहिले एमाओवादी सच्चिदै आइरहेको छ।

उनले आफुहरुको उदेश्य राजनीति गर्नु भएको र बोलचाल बन्द गर्नु नभएकोभन्दै एमाओवादी परिवर्तनहुदै गएपछि उसको विरोध नगरेको बताए। एमाले अध्यक्ष ओलीले सत्ता साझेदार दल नेपाली काङ्ग्रेस परिवर्तन भने पछि झस्कने दल भएपनि एमालेले नै परिवर्तनका विषयमा सहमतिमा ल्याउन सकेको जिकिर गरे।

काङ्ग्रेसलाई त्यस्तो र त्यस्तै त्यस्तै हो भन्दै परिवर्तनका विषयमा सहमतिसम्म ल्याउनुलाई एमालेको उपलव्धी भने। उनले संविधानको मस्यौदामा सहमति गर्ने र बाहिर आएर केहि जिम्मेबार नेताले समेत नौटंकी भन्नु गैह्जिम्मेबार भएको बताए।  संविधानको मस्यौदा मात्र छलफलका लागि जनता माझ पठाएको बताउँदै उनले संविधान नै आए जस्तो गरेर टिप्पणी गरिएको बताए। जनताबाट आएका उपयुक्त सुझावहरुलाई समेटेर नै संविधान ल्याउने उनको भनाई छ। अव जारी हुने संविधान अपूर्ण होइन उनले भने – आवश्यकता अनुसार शंसोधन गर्दै लगिने छ।

उनले नेता वा पार्टीका लागि नभई जनताका लागि संविधान चाहिएकोभन्दै जनभावाना अनुसार कै संविधान आउँनेमा ढुक्क बन्न सबैलाई आग्रह गरे। उनले संविधान जारी भएपछि संविधान सभाको काम सकिनेभन्दै विघटन हुने बताए। उनले संविधान सभा विघटन भएपछि संविधानमा नै उल्लेख भएअनुसार बाँकी काम अघि बढ्ने र एकवर्षभित्र बाँकी सवै काम पुरा हुने स्पष्ट पारे।

प्रदेश सिमाङकनको विषयलाई उठाएर संविधान निर्माणमा सहमति हुन नदिने प्रयास गरिएकोभन्दै उनले संघिय आयोगले नै सिमाङकन गर्ने बताए। एक घण्टा भाषणका क्रममा उनले कम मात्रै समसामयिक विषयमा बोले। सधैजसो उखान टुक्का प्रयोग गरी हसाउने र अन्य दल तथा नेताको खरो आलोचना गर्ने ओलीले पोखरामा विहीबार दुवै गरेनन्।

यद्यपी उनले अन्य दललाई नाङले पसलेको संज्ञा दिए। उनले एमाले सुपरमार्केट र डिपार्टमेन्टल स्टोरभन्दै ठुलो पार्टी भएको र अन्य पार्टी साना भएकोभन्दै नाङले पसलेको संज्ञा दिएका हुन्। उनले अन्य पार्टीमा लागेकाहरु अलमलिएकोभन्दै एमालेमा आउँन आग्रह गरे। एमालेलाई आकारमा ठुलो बनाउन आउनुहोस् भनेको हैन उनले भने – देश बनाउनका लागि एमालेमा प्रवेश गर्न आग्रह गरेको हु।

अध्यक्ष ओलीले एमालेले आफ्नो हैसियत बनाइसकेकोभन्दै अव देशलाई गरिव हुन नदिने उद्घोष गरे। अव कोहि जनता भोकै हुन नपर्ने, सवैका छोराछोरी पढ्न पाउँने, सबैलाई उपचारको प्रवन्ध गर्ने र भुकम्प पीडितलाई सुरक्षित घर बनाउने उनको भनाई छ।

प्राविधिक हिसावले केहि सिट कम ल्याएकाले दोस्रो भनिएपनि वीचार, उदेश्य, लक्ष्य, साङगठनिक सामथ्र्ये लगायतका दृष्टिकोणले एमाले मुलुकको प्रमुख पार्टी भएको जिकिर गरे। एमाले खुर्र दौडने र थाकिहाल्ने पार्टी होइन अध्यक्ष ओलीले भने – म्याराथन जस्तो लामो दौडमा नथाक्ने धावक जस्तै हो एमाले।
उनले भुकम्पपछि एमालेले निर्वाह गरेको भुमिकाका कारण पनि एमालेप्रतिको दृष्टिकोणमा जनताको सकारात्मक परिवर्तन आएको दावी गरे।

नेकपा एमाले निर्वाचन आयोगका अध्यक्ष सोमनाथ अधिकारी प्यासीले चाडो संविधान जारी गरी मुलुकलाई समृद्विको अभियानमा लैजानुपर्ने बताए। उनले पार्टी स्थापनापछि गरिएको मेहनत र आन्दोलनको परीणामका कारण नै संविधान निर्माणको अवस्था आइपुगेको उल्लेख गरे।

स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले अझै पनि संविधान निर्माणमा अवरोध गर्ने प्रयास भैरहेकोभन्दै एकतावद्व र सचेत बन्नुपर्नेमा जोड दिए।कार्यक्रममा एमाले लेखा आयोगका अध्यक्ष डा पुण्य पौडेलले पनि बोलेका थिए।कार्यक्रममा अध्यक्ष के.पी ओलीले विभिन्न पार्टी छाडेका झण्डै ५० जनालाई एमालेमा प्रवेश गराएका थिए। 

नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष मनबहादुर गुरुङले स्वागत र सचिव दामोदर बैरागीले कार्यक्रम संचालन गरेका थिए।  बैठकमा कास्कीका ६ सय जना परिषद् सदस्यको सहभागिता रहेको थियो। बैठकमा समसामयिक राजनीतिक विषय तथा भावि योजनामा छलफल गरिनुको साथै बैठकले पार्टीको राजनीतिक, आर्थिक र साङगठनिक प्रतिवेदन पारीत गरेको छ।

News N Photo: Nabin Sigdel

कमेन्ट गर्नुहोस्
Share: