
पोखरा, १३ साउन । पोखरा–१० बुद्धचोकमा प्रधान कार्यालय रहेको पोखरा रोयल सहकारी संस्थाले वार्षिक रुपमा प्रदान गर्दै आएको क्षेत्रीय पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार सुरेन्द्र पौडेललाई प्रदान गर्ने भएको छ । ‘पोखरा रोयल क्षेत्रीय पत्रकारिता पुरस्कार’ साउन ३० गते आयोजित १४औं वार्षिक साधारणसभामा प्रदान गरिने बुधबार सहकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पत्रकार पौडेललाई ५ हजार ५ सय ५५ रूपैयाँ नगद र प्रमाण पत्रबाट पुरस्कृत गरिनेछ । आर्थिक आवाज साप्ताहिकका कार्यकारी निर्देशक पौडेल समाधान राष्ट्रिय दैनिक र आर्थिक अभियान राष्ट्रिय दैनिकका संवाददाता हुन् । ‘सहकारी सम्बन्धी समाचार लेखेर योगदान पु¥याएबापत सञ्चालक समितिले पौडेललाई सम्मान गर्ने निर्णय गरेको हो,’ प्रवन्धक मीलन ढकालले भने ।
यसैगरी, संस्थाले राष्ट्रिय सहकारी पुरस्कारबाट राष्ट्रिय सहकारी बैंकका प्रवन्ध निर्देशक केवी उप्रेतीलाई सम्मान गर्ने भएको छ । ११ हजार १ सय ११ रूपैयाँ नगद र प्रमाण पत्रले उनलाई सम्मान गर्ने सहकारी जनाएको छ । सहकारीको विषयमा कलम चलाउने पत्रकारहरु मध्येबाट वर्षमा १ जना पत्रकार र सहकारीमा रही सहकारी आन्दोलनलाई अगाडि बढाउन मुख्य योगदान गर्ने सहकारीकर्मीलाई राष्ट्रिय सहकारी पुरस्कारबाट सम्मान गरिने ढकालले बताए ।
शेयर सदस्यका छोराछोरीहरु मध्येबाट प्लस टुदेखि विद्यावारिधीसम्म उत्कृष्ठ अंक ल्याउने १ जनालाई ५ हजार ५ सय ५५ रूपैयाँ नगदसहित प्रतिभा पुरस्कार प्रदान गरिने सहकारीले जनाएको छ । ‘एसएलसीमा उत्र्तीण शेयर सदस्यका छोराछोरीहरुलाई १ हजार रूपैयाँ नगदसहित सम्मान गर्छाैं,’ ढकालले भने । सहकारीले ७५ वर्ष उमेर पुरा भएका शेयर सदस्यलाई वार्षिक रुपमा २ हजार ५ सय रूपैयाँ पेन्सन वापत उपलव्ध गराउँछ । सहकारीले आर्थिक वर्ष २०७१÷७२ कुल कारोबार १ अर्ब २ करोड रूपैयाँ गरी ३ करोड ९ लाख रूपैयाँ नाफा गर्न सफल भएको छ ।
