साफ यु-१९ च्याम्पियनसिप: उपाधिका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुने, जिते खेलाडीले एक एक लाख रुपैयाँ पाउने

Share:

काठमाडौं, भदौ १० – उन्नाइस वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुने भएको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा सडनडेथमा बंगलादेशलाई हराउँदै भारतले फाइनलमा स्थान बनाएको हो ।

भारत र बंगलादेशबीचको निर्धारित ९० मिनेटको समय गोल रहित बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा भारत र बंगलादेशले तीन तीन गोलको बराबरी गरेपछि खेलको निर्णय सडनडेथबाट लिइएको हो । सडनडेथमा भारतले गोल गर्‍यो । बंगलादेशका खेलाडी चुकेपछि भारतले फाइनलमा स्थान बनाएको हो । निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलमा भारतले आफ्ना पक्षमा नतिजा पार्न सफल भयो ।

प्रतियोगिताको उपाधिका लागि अब शनिबार नेपाल र भारतबीच दिउँसो तीन बजे प्रतिस्पर्धा हुनेछ । बिहीबार नै भएको पहिलो सेमिफाइनलमा नेपाल अफगानिस्तानलाई ३–२ ले हराउँदै फाइनल प्रवेश गरेको थियो ।

जिते खेलाडीले एक एक लाख रुपैयाँ पाउने

सरकारले १९ वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधि जिते नेपाली टीमका सबैलाई जनही एक लाख रुपैयाँ दिने घोषणा गरेको छ । प्रतियोगिताको फाइनल पुगे लगत्तै खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले नेपाली टिमले उपाधि जिते प्रोत्साहन स्वरुप जनही एक लाख रुपैयाँ दिने घोषणा गरे ।

नेपालले शनिबार हुने फाइनलमा भारतलाई हराए टिमका २० जनाले नै एक एक लाख रुपैयाँ पाउने मन्त्री पौडेलले जानकारी दिए । नेपालले अति नै राम्रो खेल प्रस्तुत गरिरहेको र यो क्रमलाइ निरन्तरता दिन सके इतिहास रच्ने भएकाले खेलाडीलाई थप प्रोत्साहन मिलोस भनेर यस्तो घोषणा गरिएको उनको भनाई छ ।

कमेन्ट गर्नुहोस्
Share: