पश्चिमाञ्चल कोल्ड स्टोरेजमा राखिएको आलुको बिउ कुहिएपछि किसान मर्कामा, कम्पनीको लापरबाही आरोप

753
0
Share:

रञ्जन अधिकारी पोखरा, १५ कार्तिक | ‘आलुको बिउ जोगाउन भनेर यहाँ लिएर आएर राखेको । अहिले खोज्दा छैन ।’ पोखरा ५ स्थित पश्चिमाञ्चल कोल्ड स्टोरेज प्रा.लि. प्राङ्गणमा कुनामा फालिएका कुहिएका आलुका बोराहरु खोज्दै थिईन् पोखरा फुलबारीकी शोभा गुरुङ ।

शनिबार दिउँसो कम्पनी परिसर पुग्दा कुहिएका आलुका कारण पुरै दुर्गन्धित थियो । भण्डारण गर्ने तल्लो कोठामा आलुहरु कुहिएर निस्केको फोहोरले दुर्गन्धित थिए तर गुरुङ मलिन मुद्रामा आफ्नो बोरा खोज्न ब्यस्त थिईन् । एक सय ३० किलो आलु सात सय भाडा दिएर उनले बिउ जोगाउनको लागि पश्चिमाञ्चल कोल्ड स्टोरेजमा बुझाएकी थिईन् । आलुको बिउ कुहिएपछि लेखनाथका कृषक मर्कामा परेको समाचार आदर्श समाज दैनिकमा प्रकाशित भएको देखेपछि कम्पनीमै आएको उनले बताईन् । ‘सिक्लेसबाट गाउँका चार जनाको समेत आलुको बिउ मेरै जिम्मामा त्यत्रो भाडा हालेर पठाएका थिए तर अहिले कुहियो रे’ उनले तितो पोखिन् – ‘अब उनीहरुलाई के भन्नु ? कम्पनीले बेलैमा खबर गरिदिएको भए हामी आफैं लैजान्थ्यौं नि ।’ उनले अब कम्पनीले आलु नै फिर्ता गर्नुपर्ने बताईन् ।

शोभाजस्तै धेरै कृषकहरु मर्कामा परेका छन् । पोखरा १५ का प्रेम बहादुर खत्रीले गलेश्वरचोक टोलबासीले राखेका १८ बोरा र निराजनचोक टोलकी जानुका कार्कीले राखेको १७ बोरा आलु कुहिएको गुनासो गरे । ‘आलु कुहिएपछि पो खबर गरे । गाउँ तिर घरमै राखिन्छ, हामी पनि राख्थ्यौं नि ।’ उनले भने– ‘बोलाएपछि जाँदा आलु कुहिएको अवस्थामा थियो, यहि लिएर जान भन्छन् ।’ उनले कम्पनी सञ्चालकको रुखो व्यवहारले अवाक् भएको भन्दै गैरजिम्मेवार ढंगले प्रस्तुत नहुन चेतावनी दिए ।

यस्तै, पोखरा १८ काजीपोखरीका किरण अधिकारीको ब्यथा पनि उस्तै छ । फागुनमा बुझाएको ६५ किलो आलु कुहिएको थाहा भएपछि कम्पनी पुग्दा फालिएको अवस्थामा भेटिएको बताए । क्षतिपूर्ति दिनुपर्ने माग गर्दै उनले समयमै खबर नगरेकोमा आक्रोश जनाए । ‘फोन नलाग्ने बनाएका छन् । उनीहरु फोन गर्दैनन् ।’ उनले भने– अब कृषकहरुलाई चित्त नबुझाए एकजुट भएर कम्पनीलाई दबाब सिर्जना गर्र्छौं।’

यहाँको आलुको राजधानी मानिने हेम्जाका कृषकका दर्जनौं आलुको बिउमात्रै कुहिएका छैनन्, लेखनाथ सहित नजिकका जिल्लाहरु पर्वत, स्याङ्जाका कृषकहरुले समेत बिउ आलु लैजान पाएका छैनन् । बिउ जोगाउन चैतमा कोल्ड स्टोरेजमा पठाएको आलु कुहिएर शुक्रबार फिर्ता पुगेको भन्दै पर्वतको कटुवाचौपारीका किसानहरु रुष्ट छन् । कुश्मा नगरपालिका १४ कटुवाचौपारीका तीनवटा किसान समूहहरुले छुट्टाछुट्टै समयमा पठाएको आलु कुहिएर फिर्ता गएको हो । स्टोरबाटै आलु कुहिएर फिर्ता आएपछि किसानहरुले क्षतीपुर्तिको माग गरेका छन् ।

कम्पनीका अनुसार २५ सय बोरा जति आलु कुहिएका छन् । एक बोरामा ६५ किलो आलु राखिन्छ । कृषकले ढुवानी खर्च व्यहोर्दै प्रतिबोरा ३५० रुपैंया तिरेर फागुनदेखि कार्तिक १५ सम्म कम्पनीमा भण्डारण गर्ने गरेका छन् । २०६० सालदेखि सञ्चालनमा आएको सो कोल्ड स्टोरेजमा यो वर्ष मात्रै यस्तो समस्या आएको हो । यो वर्षमात्रै किन त ? प्रालिका अध्यक्ष दीपक कोईराला भन्छन् – ‘भारतको नाकाबन्दीले ईन्धन अभाव भयो । विद्युत आपूर्ति नियमित नभएका बेला जेनेरेटर चलाउन पाएनौं, त्यसैले तापक्रम नमिल्दा आलु कुहिन थाल्यो ।’ उनले कम्पनीमा रहेका सयौं बोरा आलु पनि कुहिएको भन्दै कम्पनीको लापरबाही भएको आरोपको खण्डन गरे । अध्यक्ष कोईरालाले कृषकहरुसँग कार्तिक २० पछि छलफल गरेर कम्पनीले उचित क्षतिपूर्ति दिन सकारात्मक रहेको जनाए ।

अर्का सञ्चालक ज्ञानेन्द्र कोईरालाले किसानहरु समयमा आलु लिन नआएका कारण कुहिएको भन्दै आफूले क्षतीपुर्ति दिन नसक्ने जनाएका छन् । कम्पनीले बनाएको नियमअनुसार भण्डारण गर्न राखिएको आलु लैजान चाहेमा १० दिन अगावै जानकारी गराउनुपर्नेछ तर आलु कुहिन थालेपछि कम्पनीले किन कृषकलाई सम्पर्क नगरेको ? भन्ने प्रश्नमा कोईरालाले भने– हामीले सम्पर्क गरेका हौं । भण्डारणका क्रममा आलुमा क्षति पुगे कम्पनी जवाफदेही हुने छैन भन्ने शर्त स्पष्ट किटान गरिएको छ ।’ उनले असोज १६ गते नै सबैलाई खबर गरेको दाबी गर्दै धेरै किसानहरुले आलु लगिसकेको बताए । तर बाह्य जिल्लाका कृषकहरुले भने कुहिएको आलु फिर्ता पठाएको जानकारी दिएका छन् ।

कम्पनीमा पुगेका अखिल क्रान्तिकारीका नेता कृष्णराज दाहालले कृषि कार्यालय हुँदै मन्त्रालय, ईन्सुरेन्स कम्पनी तथा जिल्ला प्रशासनसँग समन्वय गर्दै समस्या समाधान गर्न सुझाव दिए । प्रालि नै भएपनि हजारौं कृषकहरुसँग सम्बन्धित भएकाले प्रशासनसँग समन्वय गरेर डिजल उपलब्ध गराउन पहल गर्न पनि उनको सुझाउ थियो ।

हरेक वर्ष नियमित रुपमा भण्डारण गर्दै आएका किसानहरुले स्टोर सञ्चालकको लापरवाहिका कारण यसपटक आलु कुहिएको भन्दै सञ्चालकले आलु नै क्षतीपुर्ति दिनुपर्ने बताएका छन् । बजारमा जतासुकै बिउको अभाव भइरहेका बेला डेढ लाख किलो आलु कोल्ड स्टोरेजमै कुहिएपछि अब आलु रोप्न नपाउनेमा किसानहरुको चिन्ता छ । कुहिएको आलु अनुगमन गर्न पुगेका कृषि प्राविधिकहरुले कानूनी प्रकृया मिलाउन सके किसानहरुले क्षतीपुर्ति पाउन सक्ने बताएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: