
काठमाडौं, कार्तिक १५ । नवनिर्वाचित उपराष्ट्रपति नन्दबहादुर पुनले आज पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति भवन शितल निवासमा आयोजना गरिएको विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपराष्ट्रपति पुनलाई सपथ दिलाएका हुन् ।
समारोहमा निर्वतमान उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री केपी ओली, सभामुख ओनसरी घर्ती, प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, मन्त्रीहरु, संवैधानिक निकायका पदाधिकारी तथा विभिन्न पेशा र क्षेत्रका ब्यक्तित्वहरुले नवनिर्वाचित उपराष्ट्रपति पुनलाई बधाई दिएका थिए । पुन उपराष्ट्रपति बनेसँगै निवर्तमान उपराष्ट्रपति परमानन्द झाले बिदाई लिएका छन् ।
व्यवस्थापिका–संसद्मा शनिबार भएको निर्वाचनबाट पुन उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । मुलुकको दोस्रो उपराष्ट्रपति चयनका लागि भएको चुनावमा पुन ३२५ मत प्राप्त गरी विजयी भएका हुन् । निर्वाचनमा पुनका प्रतिश्पर्धी नेपाली कांग्रेसका अमियकुमार यादवले २१२ मत प्राप्त गरेका थिए ।
सत्ता साझेदार दल एमाले, एकीकृत माओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिक, राप्रपालगायतका दलको समर्थनबाट माओवादी सेनाका पूर्वकमाण्डर ५० वर्षीय पुन उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
