ईक्यान चितवनमा चुनावी सरगर्मी,सर्वसम्मतीमा जोड

433
0
Share:

विग न्यूज 

चितवन, १८ कात्तिक | नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) चितवनलाई यतिबेला चुनावी सरगर्मीले छोएको छ । शुक्रबार हुने तेस्रो अधिवेशनमा नयाँ नेतृत्व चयन हुनेछ । र, संस्थाको नयाँ नेतृत्वको लागि यतिबेला दुई जनाबीच प्रतिस्पर्धा हुने सँकेत देखिएको छ ।

अध्यक्ष पदका लागि हाल ईक्यान चितवनका सँयोजक रहेका जीवन रिजाल र संस्थापक अध्यक्ष सोमबहादुर कँडेल चुनावी मैदानमा देखिएका छन् । दुवै जनाले संस्थाको हितको लागि आफुले अध्यक्षमा उम्मेदवारी दिने बताउँदै आएका छन् ।

चितवनमा ईक्यान सम्बद्ध भोटर सँख्या जम्माजम्मी ३६ रहेको छ । र, ६ महिना भन्दा पुरानो सदस्यहरु ११ जना मात्रै छन् । यस्तो अवस्थामा ईक्यान केन्द्र र कास्की शाखाले भने सकेसम्म सर्वसम्मत कार्यसमिति छनौट गर्न ईक्यान चितवनलाई सुझाव दिएको छ । चुनावी प्रतिस्पर्धाले राम्रो सन्देश नदिने भन्दै केन्द्रको ईक्यान र कास्की ईक्यानले नयाँ नेतृत्वमा मिलेर अगाडि बढ्न अध्यक्षका दुवै प्रत्यासीलाई सुझाएको हो ।

ईक्यान चितवनको अधिवेशनका लागि यतिबेला कास्की ईक्यानका अध्यक्ष तथा केन्द्रिय सदस्य महेश भण्डारी पनि चितवनमै छन् । ‘पोखरा र चितवनको ईक्यानको शाखाहरु एक दिनको फरकमा स्थापना भएका हुन् । र, तीन कार्यकालसम्म आईपुग्दा कास्की शाखाले हरेक अधिवेशनमा सर्वसम्मतले कार्यसमिति चयन गर्दै आएको छ ।’ ईक्यान कास्कीका अध्यक्ष भण्डारीले भने–‘त्यसैले चितवनका साथीहरुलाई पनि सकेसम्म चुनावी मैदानमा गएर प्रतिस्पर्धा नगर्न भनेर हामीले भनेका छौँ ।’

ईक्यान चितवनको संस्थापक अध्यक्ष भएको हिसाबले हालका अध्यक्ष प्रत्यासी सोमबहादुर कँडेलको केन्द्रियस्तरमा निकै राम्रो पहुँच रहेको छ । हाल संयोजक रहेको हिसाबले नेपालकै दोस्रो ठुलो शैक्षिक मेला गराएको, चितवनमा ईक्यानको कार्यालय स्थापना गरेको र सदस्य सँख्या ९ बाट विस्तार गरेर ३६ पु¥याएको जस भने अर्का प्रत्यासी जीवन रिजाललाई जान्छ । चुनावी मैदानमा उनीहरु एउटाले ‘अनुभवी भएको’ र अर्कोले ‘नयाँ सोँच र शैलीको आवश्यकता’ भन्दै उत्रिएका छन् ।

स्थानियस्तरमा पहुँच बढाईरोखेकालाई स्थानियस्तरमै रहन दिन र केन्द्रिय पहुँच भएको केन्द्रमा अझै बढि पहुँच बढाउन ईक्यान चितवनकै सदस्यहरुबाट सुझाव आईरहेको हुँदा अधिवेशन सर्वसम्मतीमा जाने संभावना पनि बढेको छ । ईक्यानको केन्द्रिय अधिवेशन ६ महिना पछि हुँदैछ ।

कमेन्ट गर्नुहोस्
Share: