
रञ्जन अधिकारी पोखरा, ३ मंसीर / विश्वकै पुरानो क्रिकेट क्लब तथा क्रिकेट खेलको नियामक मेर्लिबोन क्रिकेट क्लब (एमसीसी), इंगल्याण्डका व्यवस्थापक कोलिन मेवरले नेपालमा क्रिकेट खेलको भविष्य राम्रो रहेको बताएका छन् । मैत्रीपूर्ण खेलपछि पोखराका पत्रकारसँग आयोजित भेटघाटका क्रममा उनले भने– ‘नेपालको क्रिकेट निकै राम्रो हुनेछ । विकास भइरहेको छ । आवश्यक पुर्वाधार तथा खेलाडीहरुको सीप विकास एवं प्रशिक्षणमा ख्याल दिएमा स्तर अझै सुधारिँदै जानेछ ।’
मेर्लिबोन क्रिकेट क्लव र पोखरा–११ बीच सोमबार मैत्रीपूर्ण क्रिकेट भएको थियो । ४० ओभर निर्धारण गरिएको सो खेलमा दिपेश खत्रीको कप्तानीमा उत्रिएको पोखरा ११ सँग मेर्लिबोन ५ विकेटले पराजित भयो । १२ वर्षपछि नेपाल भ्रमणमा रहेको मेर्लिबोनले यसअघि काठमाण्डौंमा क्यान ११ संग मैत्रिपूर्ण टी–ट्वान्टीमा जित हाँसिल गर्दै पोखरा आएको हो । टोलीमा १४ खेलाडी, एक एम्पाएर तथा अन्य व्यवस्थापकीय सदस्य गरी २० जना सहभागी थिए । टोली मंगलबार नै काठमाण्डौं फर्किसकेको छ । टोलीले नेपाली राष्ट्रिय टोलीसँग पनि खेल्नेछ ।
कास्की जिल्ला क्रिकेट संघको समन्वयमा आयोजित मैत्रीपूर्ण खेल सम्बन्ध स्थापना र पोखराको क्रिकेट बुझ्नका लागि उपयोगी भएको भन्दै कोलिनले यो अवसर जुटाईदिएकोमा आभार व्यक्त गरे । टोलीले पोखरा क्रिकेट मैदान सहित पोखरा गल्फकोर्षको समेत अवलोकन भ्रमण गरेको थियो । कोलिनले सन् १७८७ मा स्थापित पुरानो क्लबले वर्षेनी विश्वका विभिन्न मुलुक भ्रमण गरी मैत्रीपूर्ण क्रिकेट खेल्ने गरेको जनाउँदै नेपाली राष्ट्रिय टीमलाई आगामी जुलाईमा ईंल्याण्ड आमन्त्रण गरी मैत्रीपूर्ण खेल खेल्ने पनि बताए । उनले पोखराको क्रिकेट विकासमा आर्थिक तथा भौतिक संरचना निर्माणमा सहयोग भन्दा पनि खेलाडीहरुको स्तर विकासमा सधैं सहयोग गर्न तयार रहेको बताए । उनले पोखरा अन्तर्राष्ट्रिय क्रिकेटका लागि पनि उपयुक्त स्थान रहेको उल्लेख गरे ।
एमसीसीका क्याप्टेन निल डेस्टरले नेपाली खेलाडीहरु प्रतिभावान् रहेको भन्दै क्रिकेटको भविष्य उज्ज्वल रहेको बताए । कास्की जिल्ला क्रिकेट संघका सचिव सञ्जयकान्त सिग्देलले विश्वकै पुरानो क्लब आफै पोखरा आएर यहाँका खेलाडीसँग खेल्न पाउनु ठुलो कुरा हो भन्दै यहाँको क्रिकेट विकासमा टेवा पुगेको जनाए । प्रशिक्षक समेत रहेका क्यान कास्कीका सहसचिव भोज गुरुङले एमसीसी टोली हार जित भन्दा पनि उनीहरु क्रिकेट खेलको नियामक नै भएकाले स्तरीय क्रिकेटमा ध्यान दिएको आफुले पाएको बताए ।
