
रञ्जन अधिकारी पोखरा, २१ मंसिर / ६७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस (डिसेम्बर १०) विविध कार्यक्रमको आयोजना गरि पोखरामा मनाईने भएको छ । दिवसको सन्दर्भमा दुई दिन विशेष गरी (डिसेम्बर ९ र १०) गते पश्चिमाञ्चल क्षेत्रिय मानवअधिकार महाभेलाले विभिन्न कार्यक्रमको आयोजना गरि मनाउन लागिएको मानव अधिकार आयोगले जनाएको छ । सन् २००९ देखि दिवसको अवसरमा मानवअधिकार महाभेला नाम दिएर राष्ट्रिय स्तरमा मनाईंदै आएकोमा यो पटक पश्चिमाञ्चल क्षेत्रमा भने दोस्रो पटक हो ।
यस वर्षको दिवसको अन्तराष्ट्रिय नारा ‘आवर राईट्स, आवर फ्रिडम अलवेज’’ तय गरिएको छ भने राष्ट्रिय मानव अधिकार आयोगले ‘घरघरमा मानव अधिकार ः शान्ति र विकासको आधार’ नाराका साथ मनाउँदैछ । त्यस्त,ै पश्चिमाञ्चल क्षेत्रिय मानवअधिकार महाभेलाले ‘लोकतन्त्र, मानवअधिकार र समावेशीता, राज्यको सबै क्षेत्र र तहमा समान सहभागिता’’ तय भन्ने तय गरिएको आयोगकी क्षेत्रीय कार्यालय निमित्त निर्देशक सम्झना शर्माले जानकारी दिईन् । पश्चिमाञ्चल क्षेत्रिय मानवअधिकार महाभेलामा पोखरास्थित राष्ट्रिय मानव अधिकार आयोग, क्षेत्रिय प्रशासन कार्यालय, नागरिक समाज तथा विभिन्न संघसंस्थाहरुलाई समेटिएको छ ।
मानवअधिकारको बारेमा क्षेत्रीय र राष्ट्रिस्तरमा सचेतना फैलाउने, मानवअधिकारमैत्री कानुन, लोकतन्त्र, संक्रमणकालिन न्याय, शान्ति र दिगो विकासका लागि सरोकारवाला निकाय र राज्यका संयन्त्रहरुबीच आपसी सहयोग र सद्भाव अभिवृद्धि गरि मानवअधिकार संस्कृतिको विकास गर्ने, मानवअधिकारको प्रत्याभूति, दण्डहिनताको अन्त्य विधिको शासन प्राप्त संविधानलाई संस्थागत गर्नको लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने, महिला हिंसाको न्यूनिकरण तथा बालअधिकार संरक्षणका लागि सामुहिक प्रयासमा जोड गर्ने र सामुहिक भावना, अपनत्व र जिम्मेवारीबोध गराउन सम्बन्धित निकायहरुबीच समन्वय र सहकार्यलाई सुदृढिकरण गर्ने उद्देश्यले दिवस मनाउन लागिएको आयोगले जनाएको छ ।
नौ डिसेम्बरको दिन मानवअधिकार पत्रकार संघ हुर्जा लगायतको समन्वयमा रक्तदान तथा क्षेत्रीय प्रशासन कार्यालयको समन्वयमा चौथो मानवअधिकार राष्ट्रिय कार्ययोजना क्षेत्रीय कार्यशाला गोष्ठी हुनेछ । सरकारले निर्माण गरेको चौथो मानव अधिकार राष्ट्रिय कार्ययोजनालाई प्रभावकारी रुपमा कार्यान्वयनमा लैजान र सुशासन, मानव अधिकार र विकासको अन्तरसम्बन्धलाई केलाउँदै मानवअधिकारमुखी विकास पद्धतीको अवलम्बन गर्नुुपर्नेमा जोड दिईनेछ । यस्तै, दिवसको दिन विहान प्रभातफेरिसँगै शान्तिका लागि नागरिक समाज सञ्जालले सम्मान कार्यक्रम समेत आयोजना गर्नेछ ।
दुई दिवसीय कार्यक्रम अन्तर्गत दिवसको अवसरमा दिन स्वयंसेवी मानवअधिकार रक्षक सञ्जाल कास्की, नागरिक समाज पोखरा र सञ्चारिका समूह पश्चिमाञ्चलले दीप प्रज्ज्वलन पनि गर्नेछन् । यस्तै, अन्य कार्यक्रमहरुमा मानवअधिकार तथा महिला अधिकार विषयक अन्र्तक्रिया, देशको वर्तमान अवस्था र मानवअधिकार विषयमा सचेतना कार्यक्रम, किशोरीहरुको अवस्था र उनीहरुको मावअधिकार विषयक अन्र्तक्रिया, भ्रष्टाचार र सुशासनका लागि अनुशिक्षण कार्यक्रम, अपांगता भएका व्यक्तिहरुको अधिकारका सवालहरु विषयक छलफल, दलित र मानवअधिकार विषयक अन्तक्रिया, बाल अधिकार अन्र्तक्रिया रहनेछन् । सहयोगी संघसंस्थाहरुमा महिला तथा बालबालिका कार्यालकय कास्की,सचेतना समाज, महिला समन्वय समिति पोखरा ७ तथा टोल विकास संस्था वडा समन्वय समिति पोखरा ८, गैसस महासंघ कास्की, सिविन नेपाल, ल्याक कास्की, राईट फर चिल्ड्रेन, सुनास कास्की, एड्भोकेसी फोरम पोखरा, किशोरी सञ्जाल, कोपिला नेपाल, शक्ति समुह, एशिया मानवअधिकार तथा सांस्कृतिक विकास मञ्च लगायत छन् ।
