८० हजार घुस लिँदालिँदै इन्जिनियर अख्तियारको फन्दामा

Share:

नेपालगञ्ज २४ पुस-

नेपालगञ्ज उपमहानगरपालिकाका इन्जिनियर श्यामकाजी पिया घुससहित पक्राउ परेका छन् । प्राविधिक शाखाका प्रमुख समेत रहेका पियालाई आफ्नै कार्यकक्षबाट आज मध्यान्ह ८० हजार घुस सहित   अख्तियारको टोलीले पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय सम्पर्क कार्यालय कोहलपुरका प्रमुख दिपक थापाले जानकारी दिनुभयो ।

सडक निर्माण उपभोक्ता समितिबाट घुस लिँदै गर्दा अख्तियारको टोलीले पियालाई रंगेहात प्रक्राउ गरेको प्रमुख थापाले बताउनुभयो । पियाले नेपालगन्ज उपमहानगरपालिका १२ स्थित प्रगतिनगरको कुर्मी टोलदेखि चमार टोलसम्मको बाटो मर्मतका लागि गठित उपभोक्ता समितीसँग बिल भर्पाइका लागि घुस मागेको अख्तियारले जनाएको छ ।

सडकको ढलान गर्न ८ लाखको योजना परेकोमा पियाले उपभोक्ता समितिसँग दश प्रतिशत रकम आफूलाई दिनुपर्ने बताएका थिए । उपभोक्ता समितिका मानिसले आज नगद लिएर पियालाई बुझाउन खोज्दा उनले रकम फाइलमा राखेर ल्याउनु भनेका थिए । फाइलमा राखेको पैसा बुझेको केहीबेरै अख्तियार टोलीले पियाको कार्यकक्षमा छापा मारेर सो रकमसहित पक्राउ गरेको हो ।

कमेन्ट गर्नुहोस्
Share: