पाल्पा,५ माघ।
पाल्पाको गल्धा गा.वि.स. वडा नम्बर ७ मा पहिलो पटक समस्याको रुपमा एन्थ्रेक्स रोग देखा परेको छ । गल्धाको ७ नम्बर वडामा पशुमा लाग्ने यो रोगलाई स्थानीय भाषामा पड्के रोग पनि भन्ने गरिन्छ । यो रोग पशुबाट मानिसमा सर्ने पशु विज्ञहरु बताउँछन् ।
फाट्टफुट्ट देखिने यो रोग पहिलो पटक गल्धामा देखिएको पाल्पाका वरिष्ठ जनस्वास्थ्य प्रशासक राजेन्द्र प्रसाद घिमिरेले बताए । लामो समयदेखि गाँउमा पशु मरेको भएपनि समस्या थाहा नभएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको ल्याब टेस्टबाट एन्थ्रेक्स भएको पुष्टि गरेको घिमिरेले जानकारी दिए । स्थानियस्तरमा पशुमा रहेको यो रोग मानिसमा महामारीको रुपमा फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै क्षेत्रिय कार्यालय पोखरा र पाल्पाको बिशेष टोली आजदेखि खटाइने भएको छ ।
पशुमा हुने यसको व्याक्टेरिया कुनै कारणले मानिसको पेटभित्र र टाउँमा पुग्यो भने मानिसको ज्यानै जाने संभाबना रहने प्रमुख घिमिरेले बताए । त्यसैले पशुबाट मानिसमा सर्न नदिन सर्तकता अपानइएको छ ।
कुनै कारणले पशुमा रहेको त्यो व्याक्टेरिया मानिसको भित्री अगं छाटी, पेट, दिमाखमा पुग्यो भने निमोनिया गराउने, खकारमा रगत देखा पर्ने, बान्ता हुने, ज्वरो आउने लक्षण हुन्छ । ‘स्थानिय स्तरमा कसैमा ज्वरो, खोकी, अकस्मात, झाडापखाला, पेट दुख्ने खकार आइरहने खकारमा रगत देखा परेमा निगरानीमा आउन भनेका छौं’घिमिरेले भने । उनले जिल्लाका मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेजलाई पनि पत्राचार गरि जानकारी दिएको बताए ।
श्रावणदेखि यता यही समस्याले सो वडामा भैसी, गाई र गोरु गरेर ४० पशु मरेको जिल्ला पशु कार्यालय पाल्पाले जनाएको छ । गत श्रावण महिनादेखि नै पशुमा यो रोग देखिएकोमा समस्या पहिचान नभएकोमा ल्याबटेस्ट गरेपछि एन्थ्रेक्स भएको पुष्टि भएको हो ।
