
पोखरा, ५ माघ-
बेलायती साम्राज्यको पक्षबाट विश्व शान्तिका लागि युद्धमा मारिएका ६० हजार भन्दा बढी गोर्खाहरुको सम्मानमा स्याङ्जा जिल्लाको फेदिखोला गाविस वडा नं. ८ साल्मेडाँडामा निर्माणाधीन गोरखा स्मारक पार्क निर्माण सहयोगार्थ सोमवार कस्केली पत्रकारहरुले श्रमदान गरेका छन् ।
न्यायका लागि राष्ट्रियता र स्वाभिमानी आन्दोलनकै क्रममा गोरखा स्मारक निर्माणधीन रहेकाले आन्दोलनलाई सघाउन पुर्याउन नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीको समन्वयमा कस्केली पत्रकारहरुले श्रमदान गरेका हुन् ।
श्रमदानका लागि फोनिज, तमु सञ्चारकर्मी संघ कास्की, मगर संचारकर्मी समाजसहित कास्कीमा क्रियाशील ३१ जना पत्रकार सञ्चारकर्मीको सहभागीता रहेको थियो ।
कस्केली पत्रकारहरुले स्मारक निर्माणमा श्रमदान गरी उदाहणीय अभियानको थालनी गरेको भन्दै गोरखा भूतपूर्व सैनिक संघ गेसोका केन्द्रीय सभापति पदमबहादुर गुरुङले धन्यवाद व्यक्त गर्नुहुदै बेलायती साम्राज्यले ६० हजार भन्दा बढी गोर्खाको किन मार्न बाध्य बनाए, २ सय वर्ष सम्म किन दास बनाए र गुरुङ, मगर, राई, लिम्बु लगायत आदिवासी जनजातिका सँस्कार सँस्कृति लोप किन गराए हामी क्षतिपूति मागी रहेको छौं भन्नुभयो । यदी क्षतिपूर्ति दिन नसक्ने भए बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले गोर्खाहरुसँग माफी माग्नुपर्ने बताउनुभयो ।
नेपाल सरकार र बेलायतले विना सम्झौता गोर्खा भर्तीको नाममा युद्ध अपराध गरिरहेको आरोप लगाउनुहुदै साल्मेडाडामा निर्माण हुने गोरखा स्मारक मार्फत मारिएका ६० हजार भन्दा बढी गोर्खाहरुको हरहिसाब खोज्ने सभापति गुरुङले चेतावनी दिनुभयो ।
करिब ३०० रोपनी क्षेत्रफलमा निर्माण हुने गोरखा स्मारक पार्क युद्ध अपराधीहरुका लागि जापानको नागाशाकी र हिरोशिमामा खसाइएको अणु बम भन्दा ठुलो बम बन्ने बताउनुहुदै अब अपराधीहरुका विरुद्ध लड्ने जिम्मेवारी युवाले सम्हाल्न आग्रह गर्नुभयो ।
साल्मेडाँडामा निर्मामाधीन गोरखा स्मारकको पहिलो चरणको गोरखा समाधिको करिब ८० प्रतिशत निर्माण कार्य पूरा भएको जानकारी गराउनुहुदै उहाँले उक्त निर्माण अभियानमा गोर्खा भूपू परिवारबाट करिब साढे ८ करोड रुपैया संकलन भएको जानकारी दिनुभयो ।
समाधि हामी जसो तसो गोरखा भूपूबाटै सम्पन्न गर्छौं, अन्य गोरखा संग्रहालय, १९ जातिय गोरखा ग्राम, संग्रहालय, बगैचा, २०० मिटर उचाईको गोरखा टावर, रेष्टुरेण्ट, उद्यान एवं स्विमिङ पुल, भरतपोखरीसम्मको रेल सञ्चालनका लागि दाताहरुको खोजी गरिरहेको बताउनुभयो ।
गोर्खा हेट, तक्मा र ब्लेजरमा रहनु भएका गेसोका गण्डकी धवलागिरी अध्यक्ष हर्कबहादुर पुनले मारिएका, बेपत्ता बनाइएका ६० हजार भन्दा बढी गोर्खा भूपूहरुको सम्मानमा स्यालुट अर्पण गर्नुहुदै २५ वर्षे गोर्खा आन्दोलनले धेरै उपलब्धि हासिल गरेको जानकारी गराउनुभयो ।
साल्मेडाँडामा गोरखा स्मारक निर्माण स्थलमा २०६९ साल पुस ५ देखि ७ गतेसम्म मारिएका, बेपत्ता पारिएका, हराईरहेका १९ जातिय गोरखाहरुको आआफ्नो जातिय संस्कार अनुसार काजकिरिया सम्पन्न गरेको थियो भने स्मारकको शिलन्यास वरिष्ठ कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गर्नुभएको थियो ।
