माल्दिभ्सविरुद्ध नेपालको शानदार जित, ४-१ को हार चखाउँदै फाईनलमा प्रवेश

Share:

काठमाडौँ, ५ माघ-
माल्दिभ्सलाई ४–१ ले पराजित गर्दै नेपाल बङ्गलादेशमा जारी बङ्गबन्धु गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

आज साँझ बङ्गलादेशको राजधानी ढाकामा सम्पन्न खेलमा नेपालले माल्दिभ्सलाई ४–१ ले हराउँदै फाइनलमा प्रवेश गरेको हो । नेपालका नवयुग श्रेष्ठले तीन र विशाल राईले १ गोल गर्दै नेपाललाई जित दिलाए ।

नेपालका लागि खेलको ३१ औँ मिनेटमा नवयुग श्रेष्ठले पहिलो गोल गरे । विमल घर्तीमगरले प्रहार गरेको बल पोलमा ठोक्किएर फर्र्केपछि त्यसलाई नवयुगले गोलमा परिणत गरेका थिए ।

त्यस्तै, ५३ आँै मिनेटमा विशाल राईले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाए भने नवयुगले नै ६२ औँ र ९० औँ मिनेटमा थप गोल गर्दै ह्याट्रिक पूरा गरे ।

माल्दिभ्सका लागि ना सिद अहमदले खेलको ७५ औं मिनेटमा एक गोल फर्काएका थिए । नेपालले अब फाइनलमा बहराइनको यु–२३ टिमसँग माघ ८ गते शुक्रबार प्रतिष्पर्धा गर्नेछ ।

खेलमा ह्याट्रिक गरेका नवयुग श्रेष्ठ म्यान अफ द म्याच घोषित भए ।

जितसँगै नेपाल १७ वर्षपछि अन्तर्राष्ट्र्रिय फुटबलको फाइनलमा प्रवेश गरेको हो । सन् १९९९ पछि नेपाल कुनै पनि अन्तर्राष्ट्र्रिय फुटबलको फाइनलमा नपुगेको एन्फाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: