सहाराले लियो बदला, नवजनजागृति ३–० ले स्तब्ध, आगामी साग पोखरामैः विष्ट

Share:

रञ्जन अधिकारी पोखरा, ५ माघ / आयोजक सहारा क्लब पोखरा १४ औं आहा रारा गोल्डकपको क्वाटरफाईनलमा प्रवेश गरेको छ । नवजनजागृति क्लब सिमरा विरुद्ध गत संस्करणमा पहिलो खेलमै व्यहोरेको हारको बदला लिँदै सहारा अन्तिम आठमा प्रवेश गरेको हो ।

पोखरा रंगशालामा मंगलबार भएको उद्घाटन खेलमा सहाराले नवजनजागृतिलाई ३–० गोलले हरायो । गत संस्करणमा सहारा र नवजनजागृतिबीच नै भएको उद्घाटन खेल ३–३ को बराबरीपछि टाईब्रेकरमा सहारा ४–३ ले पराजित भएको थियो । एकतर्फी गोल गर्ने क्रममा सहाराले छैटौं मिनेटमै अग्रता लिएको हो । खेलमा म्यान अफ दि म्याच समेत बनेका विदेशी खेलाडी एल्भिसले गोलको खाता खोले । उनले एकल प्रयासमा काउण्टर गोल गरेपछि टोलीको मनोबल बढ्यो । विपक्षी गोलरक्षक रवि थापाले रोक्ने कुनै मौका नै पाएनन् । पहिलो हाफमा १–० गोलले अग्रता लिएको सहाराका लागि दोस्रो हाफमा दुई गोल थप्ने क्रममा विदेशी खेलाडी जि मार्टियल र कमल थापाले गोल गरे ।

५२ औं मिनेटमा बुद्ध तामाङको कर्नर प्रहारलाई सदुपयोग गर्दै जि मार्टियलले हेडमार्फत गोल गर्दा जीतको आधार थप बलियो बन्यो । कमलले ८३ औं मिनेटमा वान भर्सेज वानको अवस्थामा सुन्दर तरिकाले तेस्रो गोल गरे । उनी एल्भिसको स्थानमा ६६ औं मिनेटमा मैदान उत्रिएका थिए ।

नवजनजागृतिका कप्तान अवाले राम्रो खेलेपनि टीम गोल गर्न भने चुक्यो । २१ औं मिनेटमा रमेश घिसिङले राम्रो अवसर खेर फाले । विपक्षी रक्षक विनय श्रेष्ठले उनको प्रहार रोके । पहिलो हाफको अन्तिम मिनेटमा बराबरी गर्ने मौका गुम्यो । अबाको क्रसमा अजय बिक चुक्दा बल आउट भयो । दोस्रो हाफमा ६३ औं मिनेटमा अबाको प्रहार क्रसबारमा लागेर फर्किदाँ सहारालाई राहत मिल्यो । ७० औं मिनेटमा दिनेश कार्कीको फ्रिकिक प्रहारलाई सहारा गोलरक्षक विनयले उतकृष्ट बचाउ गरे । ७२ औं मिनेटमा दिनेशकै फ्रिकिक अनमार्क रहेका अबाले बललाई पोष्टको दिशा दिएपनि रेफ्री नविन्द्र महर्जनले अफसाईड दिए ।

उत्तम गुरुङको कप्तानीमा मैदान उत्रिएको सहाराका तर्फबाट पनि राम्रा अवसर खेर गयो । १२ औं मिनेटमा बुद्ध तामाङ गोल गर्न चुके । ४० औं मिनेटमा बुद्ध तामाङको क्रसमा शिव श्रेष्ठको प्रहार नवजनजागृतिका गोलरक्षक रवि थापाले उत्कृष्ट बचाउ गरे । ८१ औं मिनेटमा शिवको प्रहार पोष्ट नजिकैबाट बाहिरियो ।

खेलपछि पोष्ट म्याच कन्फरेन्समा नवजनजागृतिका प्रशिक्षक उमेश श्रेष्ठले खेलाडीहरुले राम्रै खेलेपनि पाएका अवसर उपयोग हुन नसकेको बताए । कउनले खेलमा लकले पनि साथ नदिएको उल्लेख गरे । ‘खेलाडीहरुले आराम पनि पाएनन् । उनीहरुलाई पर्याप्त समय भएन ।’ उनले भने– ‘खेलाडीहरु राति मात्रै आईपुगे । हतारमा टीम सेट हुन पनि नपाएको हो ।’

यस्तै, आयोजक टीम सहाराका प्रशिक्षक किरण श्रेष्ठले होम ग्राउण्डमा पहिलो गेममा प्रेसर नै हुने बताउँदै खेलाडीहरुको प्रदर्शन सन्तोषजनक रहेको बताए । विजेता सहाराले माघ ९ गते अन्तिम चारका लागि युनाईटेड सिक्किम एफसी भारतको सामना गर्नेछ । श्रेष्ठले सो खेलमा टीम सेट मिलिसक्ने भएकाले झनै मेहनतका साथ खेल्ने बताए । १२ औं संस्करणको विजेता सहारा त्यसअघिको संस्करणमा उपविजेता टीम हो । प्रतियोगिता अन्तर्गत बुधबार शसस्त्र प्रहरीको एपिएफ क्लब र ईन्डियन आर्मी गोर्खा ब्रिगेड टिम बिच प्रतिष्पर्धा हुनेछ ।

प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव बहादुर बिष्टले गरेका थिए । सो अवसरमा सांसद यज्ञबहादुर थापा, हिमश्री फुड्स प्रालिका तर्फबाट युवा उद्यमी प्रकाश केसी लगायतले आहारारा गोल्डकप पोखराकै गौरव भएकाले यसलाई सफल पार्न पोखरेली लाग्नुपर्ने बताए ।

प्रतियोगिता शुभारम्भ अवसरमा पुर्व फुटबल खेलाडी क्याप्टेन गणेश गुरुङलाई सम्मान पनि गरियो । फुटवल खेलको विकासमा लामो समय देखि लाग्दै आएका बेलायती गोर्खा सेनाका क्याप्टेन समेत रहेका गुरुङलाई राखेप सदस्यसचिव विष्टले दोसल्ला ओढाई सम्मानपत्रद्वारा सम्मान गरेका हुन् । कास्की जिल्ला खिलाङ पार्चे गा. वि. स. वडा नं. ३ निवासी गुरुङले आफुलाई वि.सं. २०१६ साल देखी २०३८ सालसम्म फुटबल खेलमा आफुलाई समर्पित गराएका थिए ।

हिम श्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा चाउचाउको मुख्य प्रायोजन रहेकोे प्रतियोगितामा विजेता टीमले पाँच लाख एक हजार एक रुपैया, उपविजेता टीमले दुई लाख ५१ हजार एक रुपैयाँ नगद, कप, मेडल र प्रमाण पत्र पाउने छ । १२ टीम सहभागी प्रतियोगितामा नेपालका ए डिभिजन क्लबहरु, आयोजक र तीन विदेशी सहित १२ टिमको सहभागिता छ ।

आगामी साग पोखरामैः विष्ट

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्टले आगामी साग गेमको उद्घाटन पोखरामै गर्ने गरी प्रयत्न भएको जनाएका छन् । १४ औं आहारारा गोल्डकप फुटबल प्रतियोगिताको पोखरामा मंगलबार उद्घाटन गर्दै विष्टले सुन्दर पर्यटकीय नगरी पोखरामा देश विदेशका खेलाडी पदाधिकारीलाई ल्याएर उद्घाटन गर्ने प्रयत्न भईरहेको बताए ।

‘साग गेम पोखरामै उद्घाटन गर्नुपर्छ भन्ने हाम्रो धारणा छ । त्यसका निम्ति हामी प्रयत्न गरिरहेका छौं । तपाईंहरु पनि सहयोग गर्नुहोस् ।’ विष्टले भने– ‘यहाँका राजनीतिक दलहरु, सबै संघसंस्थाहरुले दबाब दिनुहोस्, अहिलेदेखि नै तयारी सुरु गर्नुहोस् ।’ सदस्यसचिव विष्टल यहाँ साग गेम हुने हो भने पोखरा रंगशाला परिसर अन्तर्राष्ट्रिय स्तरको स्पोर्टस् भिलेज बन्ने समेत उल्लेख गरे । ‘रंगशालाको स्तरोन्नति हुनेछ । यहाँका होटल तथा पर्यटन व्यवसाय उकासिनेछ ।’ विष्टले भने ।

उनले १४ संस्करण पुरा भईरहेको सन्दर्भमा आहा रारा गोल्डकप सञ्चालनका लागि रातो किताबमै लेखिने गरी बजेट छुट्याउनुपर्ने आवश्यकता समेत महसुस गरे । उनले सहारा क्लबले नेपाली फुटबल क्षेत्रमा पु¥याएको योगदानको समेत प्रशंसा गरे ।

कमेन्ट गर्नुहोस्
Share: