
नवराज ढुङ्गाना
पोखरा, ६ माघ-
देशभर चिसो बढेको छ । हिमाली र उच्च पहाडी गाउँमा हिउँ परेको छ भने पहाडी जिल्लाहरुमा बिहान बर्षा भएको छ ।
मुस्ताङ, मनाङ, जोमसोम, रसुवा, धादिङ, सिन्धुपाल्चोक, सुदूरपश्चिमका पहाडी जिल्लाको उच्च क्षेत्रमा हिमपात भएको छ ।
मुलुकभरको मौसम बिहीबारबाट मात्रै क्रमिक सुधार आउने मौसम विभागले जनाएको छ ।
केही समयदेखि चिसिने क्रम केही घटेपनि अचानक हिजो रातीदेखि भने चिसो बढेको हो । चिसो बढेसँगै देशका विभिन्न ठाउँहरुको जनजीवन प्रभावित भएको छ । बिशेषगरी तराईमा शितलहर र उच्च पहाडी जिल्लामा हिमपातका कारण सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ ।
पोखरामा पनि आज बिहान केहीबेर बर्षा भएको थियो । हिजो राती देखि नै चिसो बढ्ने क्रम सुरु भएपनि बिहानको बर्षाका कारण पोखरा आसपासमा बढी चिसोको महसुस भएको छ ।
मौसमविद्हरुले भने भारतमा विकसित भएको मौसमी प्रणालीको प्रभावका कारण अत्यधिक चिसो भएको बताउँछन् । आज देशका अधिकांश ठाउँमा घाम लागेको छैन भने चिसो हावा चलेको छ ।
