बिग एफएमले ‘प्रेमगीत बेस्ट भ्यालेन्टाईन कपल’ छान्ने

Share:

रेम बिक पोखरा, २२ माघ । विग एफएमले मायालु जोडीहरुलाई लक्षित गर्दै ‘बेस्ट भ्यालेन्टाईन कपल’ रेडियो गेम शो शुरु गरेको छ । प्रणय दिवसको छेको पारेर हरेक वर्ष गर्दै आएको यो रेडियो कार्यक्रम विहिबारदेखि शुरु भएको एफएमले जनाएको छ । यो कार्यक्रम फेबु्रअरी १४ सम्म चल्नेछ ।

विहिबार पहिलो दिन शशि गुरुङ र सरोज थापाको जोडि उत्कृष्ट भएको एफएमले जनाएको छ । यो पटकको ‘बेस्ट भ्यालेन्टाईन कपल’ रेडियो गेम शो लाई नेपाली फिल्म ‘प्रेमगीत’ले व्यवसायिक साथ दिएको छ । प्रणय दिवस अर्थात भ्यालेन्टाईन डे लाई लक्षित गर्दै प्रदर्शन मिति तोकेको लभस्टोरी फिल्मले बेस्ट भ्यालेन्टाईन जोडिका लागि भन्दै विग एफएमसँग व्यवसायिक सहकार्य गरेको हो । प्रेमगीत माघको २९ गतेदेखि अलनेपाल रिलिज हुँदैछ ।

Valentines Day Special Game Show_RGB-01

‘प्रणय दिवसलाई नै लक्षित गरेर प्रदर्शन गर्न लागेको हाम्रो फिल्मको प्रचारप्रसारसँगै त्यस्ता मायालु जोडिहरुको माया अझै प्रगाढ बनाउनका लागि हामीले एफएमसँग सहकार्य गरेका हौँ ।’ आशुसेन फिल्म प्रोडक्शनका संचालक तथा फिल्मका निर्माता सन्तोष सेनले भने–‘यो सहकार्यले दुवै पक्षलाई उत्तिकै फाईदा हुने कुरामा हामी ढुक्क छौँ ।’

यो रेडियो गेम शो अन्तरगत मायालु जोडिहरुले एसएमएसमार्फत सहभागिताको लागि आफ्नो जोडि दर्ता गराउनुपर्ने एफएमका कार्यक्रम सँयोजक संजोग बस्यालले जानकारी दिए । दर्ता भएका जोडिहरु मध्ये एफएमले लक्की ड्र गरेर १० दिनसम्म हरेक दिन साँझ ८ बजे ‘एक उत्कृष्ट मायालु जोडि’लाई छनौट गर्नेछ । र, प्रणय दिवसको दिन उत्कृष्ट १० मायालु जोडिमध्येबाट ‘प्रेमगीत बेस्ट भ्यालेन्टाईन कपल’ छनौट हुनेछन् ।

युवा ज्योतिष हरिहर अधिकारीले सर्वोत्कृष्ट जोडि छान्ने एफएमले जनाएको छ । उनले उत्कृष्ट जोडिहरुमध्ये ज्योतिष शास्त्रबाट ‘लभ केमेस्ट्री’ मिलेको एक जोडिलाई सर्वोत्कृष्ट घोषित गर्नेछन् । यसरी छानिएका सर्वोत्कृष्ट जोडीले नगद २० हजार रुपैँया सहित विभिन्न भ्यालेन्टाईन गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । यस्तै अन्य उत्कृष्ट जोडीहरुले पनि नगद दुई हजार रुपैँया र भ्यालेन्टाईन गिफ्ट प्राप्त गर्ने एफएमले जनाएको छ ।

रेडियो गेम शो मा दर्ता हुनका लागि जोडिहरुले मोबाईलको मेसेज बक्समा गई BIG<space>FM<space>  जोडीको नाम लेखेर ४३२१ मा पठाउनुपर्नेछ । जुनसुकै उमेर समुहका जोडिले यसमा आफ्नो नाम दर्ता गराउन सकिने एफएमले जनाएको छ ।

यो कार्यक्रमको प्रायोजन गरेको फिल्म ‘प्रेमगीत’ सुदर्शन थापाको निर्देशनमा बनेको फिल्म हो । यो फिल्ममा प्रदिप खड्का, पुजा शर्मा लगाएतका कलाकारहरुले अभिनय गरेका छन् । फिल्मको गीत ‘म यस्तो गीत गाउँछु’ यतिबेला निकै हिट पनि भैरहेको छ । फिल्ममा अर्जुन पोखरेलले संगीत दिएका हुन् ।

कमेन्ट गर्नुहोस्
Share: