
रञ्जन अधिकारी पोखरा, २४ माघ / पोखरा जेसीज वर्ष २०१६ का पदाधिकारीहरुलाई पदीय जिम्मेवारी सम्बन्धमा तालिम दिईएको छ । नयाँ कार्यसमिति गठनपछि हरेक वर्ष सञ्चालन हुने शाखा पदाधिकारी तालिममा आफ्नो पद, यसको काम, कतव्र्य र अधिकार सम्बन्धमा प्रशिक्षण दिईने गरिन्छ ।
प्रमुख प्रशिक्षक जेसिआई सिनेटर सुवास सिग्देल र शाखाका पुर्व अध्यक्ष सन्तोष पोखरेलले सहजिकरण गरेका थिए । प्रमुख प्रशिक्षक सिग्देलले एक वर्षे कार्यकाल रहने पदमा बसेर के गर्ने, आफ्नो भुमिका के हुने, अधिकार कस्तो रहने सम्बन्धमा प्रशिक्षण दिए । संसारमा एक सय वर्ष लामो ईतिहास बोकेको जेसिआई ईन्टरनेशनल अन्तर्गत पोखरा जेसीज नै यहाँ स्थापना भएको चार दशक पुगेकोले यसको गरिमालाई उँचो बनाउन सबै लाग्नुपर्नेमा उनको जोड थियो ।
नेपाल जेसीज अन्तर्गत मुलुकभर रहेका १३८ शाखामा ५५ शाखा मात्र सक्रिय रहेको अवस्थामा पोखरा जेसीज एक उत्कृष्ट शाखाका रुपमा रहेको उनले जनाए । ‘पोखरा जेसीजमा नेतृत्व गर्नेहरु अहिले पोखरामा मात्र नभएर बाहिर पनि आफ्नो क्षेत्रमा अब्बल छन् ।’ सिग्देलले भने– ‘अब पाँच वर्षको योजना बनाएर पोखरा जेसीजलाई कस्तो बनाउने ? कहाँ पु¥याउने भनेर लक्ष्य निर्धारण गर्नु जरुरी छ ।’ उनले प्रोजेक्ट निर्माणका सन्दर्भमा पनि बुझाए ।
अर्का प्रशिक्षक सन्तोष पोखरेलले अरुभन्दा एक कदम अगाडि र अन्य भन्दा फरक किसिमले आफुलाई प्रस्तुत गर्नुपर्नेमा जोड दिँदै नेतृत्व तथा व्यक्तित्व विकास सम्बन्धमा प्रशिक्षण दिए । सहभागीका तर्फबाट ह्युमन राईट्स सेल कोओर्डिनेटर देवराज शर्मा र मेम्बर कोओर्डिनेशन चेयरपर्सन भाइराज रानामगरले बोले ।
पोखरा जेसीजका अध्यक्ष गोविन्दप्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा संयोजक नविन तथा तथा महासचिव सन्तोष शाहीले पनि बोलेका थिए ।
