नेपालद्वारा भुटान ५–० ले पराजित, नवयुगको फेरि ह्याट्रिक, महिला फुटबलमा नेपालले लगातार दोस्रो जीत

Share:

काठमाडौँ, २४ माघ/ १२ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गतको फुटबल प्रतियोगितामा नेपालले भुटानमाथि शानदार जित दर्ता गरेको छ ।

भूटान विरुद्धको खेलबाट नेपालले सागमा फुटबल प्रतियोगिताको सुरुवात गर्ने क्रममा नेपालले भुटानलाई ५-० गोलअन्तरले पराजित गरेको हो । भारतको गुहावटी स्थित नेहरू रंगशालामा भएको खेलमा नवयुग श्रेष्ठले ह्याट्रिक गरेपछि नेपालको जित सहज भएको हो । श्रेष्ठले खेलको ३३ औँ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । यस्तै, उनले ७६ औ मिनेट र ८५ औ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए ।

यस्तै, खेलको ४४ औ मिनेटमा बिशाल राईले गोल गरेका थिए भने खेलको ५१ औ मिनेटमा अन्जन बिष्टले गोल गरेका थिए । खेलको ८२ औ मिनेटमा भुटानका दोर्जीलाई नेपाली खेलाडीलाई फल गरेको भन्दै रातो कार्ड दिइएपछि भुटानको टोली १० खेलाडीमा सिमित भएको थियो ।

यस्तै, आजै भएको महिला फुटबलमा नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ । नेपालले आज जवाहरलाल नेहरु रंगशालामा माल्दिभ्सविरुद्ध २–० को विजय प्राप्त गरेको हो । नेपालका लागि अनु लामाले ३६ औं र निरु थापाले ८९ औं मिनेटमा गोल गरेका थिए ।

प्रतियोगिताको दाबेदार नेपालले पहिलो खेलमा बंगलादेशमाथि ३–० को जीत पाएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: