अबदेखि नियमित इन्धन उपलब्ध गराउने आईओसीको प्रतिबद्धता

Share:

काठमाडौँ, २५ माघ-
भारतीय आयल निगम (आइओसी)ले रक्सौल नाकाबाटै आवश्यक इन्धन उपलब्ध गराउने भएको छ ।

तराई–मधेसमा जारी आन्दोलन र भारतको अघोषित नाकाबन्दीका कारण रक्सौल नाका अवरुद्ध भएकामा नेपाल आयल निगमका आग्रहमा आइओसीले मार्ग परिवर्तन गरी अन्य नाकाबाट इन्धन आयात गर्दै आएको थियो । शुक्रबारदेखि सो नाका सहज भएसँगै निगमको पुनः आग्रहमा साविक झँै रक्सौल नाकाबाटै इन्धन उपलब्ध गराउन आइओसी सहमत भएको हो ।

निगमका प्रवक्ता मुकुन्द घिमिरेले नाका सञ्चालन भएसँगै पुरानै बाटो(रक्सौल)बाटै इन्धन उपलब्ध गराउन आइओसी सहमत भएको जानकारी दिनुभयो । निगमले मार्ग परिवर्तन गरेर विभिन्न स्थानमा रहेका रक्सौल–काठमाडौँ सञ्चालन हुने ग्यास बुलेट तथा ट्यांकरलाई पुरानै मार्गमा केन्द्रित हुन निर्देशन गरिसकेको छ ।

मुलुकलाई आवश्यक ७० प्रतिशत इन्धन यसै नाकाबाट आयात हुने गरेको छ । आइओसीको प्रतिबद्धता अनुसार नाकाबन्द हुनु अगाडि जस्तै रक्सौलबाटै इन्धन उपलब्ध हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुङ्गानाले भारतसँग जोडिएका १९ वटै नाका सहज रुपमा सञ्चालन रहेकाले भन्सार एवम् आयात तथा निर्यात सामान्य रुपमा सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
Share: