
पोखरा, १४ फागुन-
म्याग्दीको दानामा अस्ति भएको तारा एयरको विमान दुर्घटनामा परी ज्यान गुमाएकामध्ये ८ जनाको अझै सनाखत हुन सकेको छैन ।
विमानमा रहेका सबै २३ जनाको शव भेटिएपनि अहिलेसम्म १५ जनाको मात्रै सनाखत भएको हो ।
घटनास्थलमा ३ जनाको शव मात्रै पहिचान भएको थियो । सनाखत भएकामध्ये ७ जनाको शव आफन्तले बुझेका छन् ।
अहिलेसम्म चालक दलका तीनजना सदस्य पाइलट रोशन मानन्धर, कोपाइलट दिकेश नेमकुल, एयर होस्टेज रमा राउतको पहिचान खुलेको छ । यस्तै, सिन्धुपाल्चोकका डोल्मा छिरिङ शेर्पा, बालकृष्ण निउरे, मुक्तिनाथ वास्तोला, कमला थकाली, ६ महिने बालिका, कुवेती नागरिक अहमद रसिद, नेपाली सेनामा कार्यरत राजकुमार तामाङ, मोतीबहादुर केसी र रेवती बरालको शव पहिचान गरी आफन्तले बुझिसकेका छन् ।
यस्तै, विनिता भट्टचन, उनका दुई महिने छोरा र कृष्णलाल भट्टचनको शव पनि आफन्तले बुझेका छन् ।
चिनियाँ नागरिक माक सुई याङ, दिलकुमारी गौचन, देवीजंग गुरुङ, फेनजोक गुरुङ, लक्ष्मी हिराचन, पवित्रा केसी, लेप्साङ लामा र कान्छा परियार भने पहिचान हुन सकेको छैन । शवहरु जलेको अवस्थामा रहेकाले पनि पहिचान गर्न मुस्किल र ती शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले बताएको छ ।
बुधवार बिहान ७ बजेर ५० मिनेटमा पोखराबाट जोमसोमको उडेको तारा एयरको नाइन एन एएचएच विमान म्याग्दीको दाना गाविसमा दुर्घटना भएको थियो ।
