प्लाष्टिक मुक्त नगर घोषणा विरुद्ध आन्दोलन

Share:

रञ्जन अधिकारी पोखरा, १४ चैत / पोखरा उपमहानगरपालिका कार्यालयले आगामी बैशाख १ गतेदेखि पोखरालाई प्लाष्टिक झोला र गिलास निषेधित क्षेत्र घोषणा गर्न लागेकोमा प्लाष्टिक उद्योगी व्यवसायी आन्दोलित भएका छन् । नगरपालिकाले हतारमा विना विकल्प निषेध गर्न लागेकोमा आपत्ति जनाउदै उनीहरुले दवावमुलक आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

पोखरामा आईतवार पत्रकार सम्मेलन गरी नगरपालिकाको तयारी विरुद्ध दवावमुलक कार्यक्रम सार्वजनिक गरिएको हो । प्लाष्टिक निषेध तयारी विरुद्ध संघर्ष समिति नै गठन गरी उद्योगीहरु आन्दोलित छन् । संघर्ष समितिका संयोजक राजेश्वर आचार्यका अनुसार चैत १६ गते पोखरा उद्योग वाणिज्य संघ र चैत्र १७ गते प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम तय भएको छ । त्यस्तै चैत १८ गते विभिन्न प्लाष्टिकजन्य सामाग्री उत्पादन तथा प्याकेजिङ गर्ने उद्योगहरुलाई सहयोगको लागि अपिल गर्ने र चैत १९ गते पुनः पत्रकार सम्मेलन गरी २० गतेदेखि पोखरा आयात हुने सम्पूर्ण प्लाष्टिकजन्य सामाग्रीमा रोक लगाउने कार्यक्रम सार्वजनिक गरिएको छ ।

नगरपालिकाले प्लाष्टिक निषेध गर्दा पोखरामा रहेका प्लाष्टिक उद्योगहरुहरुको लगानी डुब्ने उनीहरुले बताए । पोखराको बजारमा अहिलेपनि आगामी ६ महिनाको लागि पुग्ने प्लाष्टिक झोला र गिलास मौज्दात रहेको उनीहरुले बताएका छन् । पोखरामा चार वटा प्लाष्टिक उद्योग छन् । ग्लोवल प्लाष्टिक उद्योग, एभरग्रिन प्लाष्टिक उद्योग, गण्डकी प्लाष्टिक उद्योग र जयाँ प्याकेजिङ गरी चार वटा उद्योगमा झण्डै १० करोड लगानी रहेको आचार्यले बताए । यी उद्योगमा झण्डै एक सयले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।

पोखराका उद्योगले यहाको मागको १० प्रतिशत मात्र हिस्सा ओगटेको छ । वाँकी प्लाष्टिक वाहिरबाट आयत भैरहेको छ । तर नगरपालिकाले आगामी दिनमा अनुगमनको क्रममा प्लाष्टिक झोला तथा गिलास भेटिए जफत गर्ने चेतावनी दिएको छ । नगरपालिकाले आफुहरुसँग मौजाद प्लाष्टिक जफत गर्न खोजे प्रतिकारमा उत्रले उनीहरुले चेतावनी समेत दिए । विना विकल्प भएका उद्योगलाई वन्द गराउने उद्देश्यले नगरपालिकाले निषेध तयारी गरेको भन्दै सफल हुन नदिने उनीहरुको चेतावनी छ ।

पत्रकार सम्मेलनमा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दु कुमार थापाले प्लाष्टिक झोलाको विकल्प दिन सक्नुपर्ने बताए । प्लाष्टिक झोला र गिलासलाई निषेध भन्दापनि न्यूनिकरण गर्दै लैजान उनले सुझाव दिए । नगरपालिकाको निषेध योजनावारे विज्ञ , व्यवसायी र पत्रकार सहित वृहत छलफलको आवश्यकता रहेको भन्दै उनले निषेध योजना सफल हुनेमा विश्वस्त नरहेको समेत बताए ।

ग्लोबल प्लाष्टिक उद्योगका सञ्चालक परमेश्वर आचार्यले व्यवसायीले माफी माग्नुपर्ने कुरा सञ्चारमाध्यममा बोलेर कार्यकारी अधिकृतले गल्ती बोलेको बताए । कार्यक्रममा प्लाष्टिक व्यवसाय समिति, कास्कीका अध्यक्ष राजेश्वर श्रेष्ठ, गण्डकी प्लाष्टिक उद्योगकका सञ्चालक हरि कर्माचार्य लगायतले राज्यलाई कर तिरेर कानुनी रुपमा खोलेको उद्योग अवैधानिक नभएकाले नगरपालिकाले बन्द गर्नै नसक्ने जिकिर गरे । लाष्टिकको झोलाले प्रदुषण बढाएको भए त्यसको व्यवस्थापन नगरपालिकाले गर्नुपर्नेमा व्यवसायीले जोड दिएका छन् । प्लाष्टिक जन्य सबै समाग्री संकलन गरी दिएमा आफुहरुले २० रुपैया प्रतिकेजीमा किन्न तयार रहेको उनीहरुले बताए । पोखरा उपमहानगरपालिकाले प्लाष्टिक झोलाले प्रदुषण बढाएको र मानव स्वास्थ्यमा पनि असर पार्ने भन्दै पोखरालाई प्लाष्टिकझोला र गिलास निषेधित क्षेत्र घोषणाको तयारी गरेको हो । नगरपालिकाले विभिन्न वडाहरुलाई प्लाष्टिक झोला र गिलास निषेधित क्षेत्र घोषणा गरिसकेको छ । चैत १५ देखि नै विक्रिवितरणमा रोक लगाउँदै १ गते घोषणा गर्ने तयारीमा नगरपालिका रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: