भूकम्पको एक वर्षे शोक बिसाए गायक जयकुमारले

Share:

रेम बिक
पोखरा, १२ बैशाख-
गायक, संगीतकार तथा नृत्य निर्देशक जयकुमार परियारले पोखराको वात्सायन वृद्धाश्रममा खाद्यान्न तथा फलफुल वितरण गरेका छन् । अघिल्लो वर्ष बैशाख १२ कै दिनमा गएको भूकम्पमा परेर ज्यान गुमाउने सम्पूर्णलाई श्रद्धान्जली व्यक्त गर्दै उनले वृद्धाश्रममा सहयोग गरेका हुन् ।
भूकम्पबाट ज्यान जानेहरुप्रति समर्पण गर्दै यो एक वर्ष यता उनले कुनै पनि चाडवाड मनाएका थिएनन् । त्यस्तै सार्वजनिक कार्यक्रममा कुनै पनि खालको सम्मान पनि उनले लिएका थिएनन् । ‘भूकम्प जाने बेलामा म काठमाण्डौमै थिएँ । ठुलो कालले बाँचेको हुँ म पनि । कतिपय साथीहरु बाँचियो भनेर त्यतिबेलै खुशि मनाए । तर मैले त्यस्तो गर्न सकिन ।’ उनले भने–‘म बाँच्नु पक्कै मेरो र मेरो परिवार अनि आफन्तको लागि खुशिको कुरा हो । तर कति धेरै नेपाली दाजुभाईहरुले भूकम्पकै कारण ज्यान गुमाए । उनीहरुको आत्माको चिर शान्तिको कामना गर्दै मैले एक वर्षसम्म शोक मनाएको हुँ ।’
आगामी दिनमा नेपालीले कहिल्यै पनि यस्तो खाले दुर्दशा भोग्न नपरोस् भन्दै उनले कामना समेत गरे । र, शोक मनाएको वर्षगाँठ पु¥याएर उनले टिका पनि फुकाए ।
उनको सहयोग कार्यक्रममा मुक्तिनाथ वाहिनीका सहायक वाहिनीपति कृष्णभक्त ब्रम्हाचार्य, लोकदोहोरी गायक पुरुषोत्तम न्यौपाने, ओम फाउन्डेशन नेपालका अध्यक्ष दिलमाया गुरुङ, लोकदोहोरी गायक शंकरविरही गुरुङ, चोलेन्द्र पौडेल लगाएतले उनलाई धन्यबाद दिँदै नेपालमा यस्तो विपत्ती कहिल्यै नपरोस् भनेर कामना गरे । साथै उपस्थित सम्पूर्णले भूकम्पमा दिवंगत भएका सम्पूर्णप्रति श्रद्धासुमन समेत व्यक्त गरे ।
जयकुमार २ दशकभन्दा बढि समय देखि यो क्षेत्रमा क्रियाशिल छन् । उनले यो बीचमा थुप्रै गीतहरु गाउनुका साथै संगीत पनि भरेका छन् । नृत्य कलामा पोख्त जयकुमारले फिल्म तथा म्यूजिक भिडियोहरुमा नृत्य निर्देशन समेत गरिसकेका छन् । उनले व्यावसायिक रुपमा संगीत र नृत्य पनि सिकाउँदै आएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: