पोखरामा आठौं राष्ट्रपति रनिङ सिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सुरु

Share:

पोखरा, १५ वैशाख-
पोखरामा आठौँ राष्ट्रपति रनिङ सिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ ।

पोखरा रंगशालामा आगामी १७ गतेसम्म्म तीन दिन चल्ने प्रतियोगिताअन्तर्गत छात्र, छात्रा दुवै समूहमा खेलाइने खेलमा भलिबल, कबड्डी, एथलेटिक्स (हाइजम्प, लम्जम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटपुट) आदि खेल खेलाइने जिल्ला खेलकुद विकास समिति कास्कीले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन नेकपा (एमाले) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले गर्ने तयारी गरिए पनि तुवाँलोका कारण पोखरामा हवाई उडान सम्भव नभए पछि उनी उपस्थित हुन सकेनन् ।

टेलिफोनमार्फत सहभागी सम्पूर्ण खेलाडी विद्यार्थीलाई शुभकामना दिँदै पूर्व प्रधानमन्त्री खनालले खेलकुद जीवनको एउटा महत्वपूर्ण पक्ष भएको बताए ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले प्रतियोगिताका सहभागी खेलाडी विद्यार्थीलाई सफलताको कामना गरेका थिए ।

प्रतियोगितामा सहभागी विद्यालयमध्येबाट एथलेटिक्स तथा भलिबलको प्राप्त अङ्क जोडी उत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यालयलाई राष्ट्रपति रनिङ सिल्ड प्रदान गरिने तथा खेलमा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्नेलाई क्रमशः १५ हजार, १२ हजार र नौ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतियोगिता सुरु हुनुअघि विद्यार्थीले मार्चपास गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: