
पोखरा, २८ असार-
राजनीतिक विश्लेषक सिके लालले बर्तमान राजनीतिक गतिरोधको निकास शसक्त आन्दोलनबाट हुनुपर्नेमा जोड दिएका छन् ।
गुरुङ प्राज्ञिक तथा व्यवसायिक मञ्चद्धारा सोमवार पोखरा उद्योग बाणिज्य संघको अमृत कक्षमा आयोजित नेपाली राजनीतिमा पहिचान र राष्ट्रियताको सवाल विषयक बृहत अन्तरक्रियामा श्रोत वक्ताको रुपमा विचार व्यक्त गर्दैै राजनीतिक शक्तिको निर्धारण आन्दोलनबाटै हुने भएकाले पहिचान, अधिकार र राष्ट्रियताका निम्ती आन्दोलितहरुले आन्दोलनलाई शसक्त बनाउनुपर्ने सुझाव दिए ।
वर्तमान राजनीतिक गतिरोध र निकास विषयमा विचार व्यक्त गर्नुहुदै विश्लेषक लालले संविधानको काम बनाउनु हो तर मुलुकलाई विगार्ने पहिचान, अधिकार, स्वाधिनता विहिन संविधान जारी गरी मुलुकमा गतिरोध निम्त्याएको बताउँदै निकासका लागि देश भित्रैबाट मध्यस्थताको भुमिका, अन्र्तराष्ट्रिय शक्तिको दवावबाट वातावरण निर्माण गरी सहमतिमा ल्याउने उपाय भए पनि शसक्त आन्दोलन नै बलशाली हुने बताए ।
जनताको न्यायोचित मागलाई अपमान गर्ने, सरकार गैरजिम्मेवार बन्ने हो भने मुलुक अफगानिस्तान, सुडान बन्न सक्ने भएकाले आन्दोलनकारी जिम्मेवार बन्नुपर्नेमा सुझाव दिए ।
प्राकृतिक पहिचान र राष्ट्रिय पहिचानसहितको बहुराष्ट्रिय राज्यको अवधारणाले समस्या समाधानको दिगो उपाय भएको उनको भनाई थियो ।
उनले मुलुकको गतिरोधको मुख्य कारण भनेको अन्तरिम संविधानको आधारमा नभई १६ बुँदे सहमतिको षडयन्त्रमुलक मार्गबाट जवरजस्त संविधान जारी गरिनु रहेको बताए ।
पहिचान र अधिकार नै संविधानको प्राण हो तर प्राण विनाको संविधान जारी गरेर माओवादी नेताहरु प्रचण्ड, बाबुरामहरु प्राप्त उपलब्धि गुम्ने भएकाले भन्ने नाटक मात्रै गरिरहेको उनको आरोप थियो ।
अर्का श्रोत वक्ता संयुक्त गठबन्धन राष्ट्रिय आन्दोलनका प्रवक्ता प्राध्यापक डाक्टर ओम गुरुङले जारी प्रतिगामी संविधान नै मुलुकको गतिरोधको मुख्य कारक भएको बताए ।
आन्दोलनको औचित्य, अवस्था र कार्यदिशा विषयक विचार प्रस्तुति गर्नुहुदै डा. गुरुङले आदिवासी जनजातिलाई विभेद, मधेशीलाइ भारतीय÷विहारी देख्ने, पहिचान र अधिकारलाई जातियता, साम्प्रदायिकता देख्नेहरुका कारण मुलुक आन्दोलित भइरहेको बताए ।
विविधताको मुलुकमा विविधतामाथि विभेदका कारण द्धन्द्ध निम्तने सक्ने भन्नुुहुदै स्वशासन सहितको पहिचानयुक्त संघीयताले सबैलाई अधिकार सम्पन्न बनाउने उनको दावी थियो ।
विगतमा क्षेत्रीय पहिचा, अधिकार, स्वाधिनताका आन्दोलनलाई संघीय गठबन्धनको नामबाट राष्ट्रिय आन्दोलनको रुपमा अघि बढाइएको बताउनुहुदै प्रवक्ता डा. गुरुङले शान्तिपुण आन्दोलनले अन्र्तराष्ट्रिय समर्थन प्राप्त गरिरहेको छ, आदिवासी जनजातिको आन्दोलनलाई पहिलो पटक चीन, भारत, इयु, अमेरिका लगायतले चासो दिएको बताए ।
कार्यक्रममा सहभागीहरु अम्बर तुलाचन, ज्योति भट्टचन, कञ्चन गुरुङ, खुशीमान गुरुङ, टेकबहादुर गुरुङ, भिमबहादुर श्रीस मगर, मोतिश्वर थापा, डा.नारायणसिह गुरुङ, चेतनप्रकास गुरुङ, अधिवक्ता जुनाकुमारी गुरुङ, सोमबहादुर नेपाली लगायतले अन्तरक्रिया कार्यक्रममा जिज्ञासा राखेका थिए ।
