
पोखरा, २८ असार–
‘प्रहरी मेरो साथी’ कार्यक्रम शुभारम्भ भएकै दिन सोमबार पोखराका क्रियाशील पत्रकारमाथि प्रहरीले ज्यादती गरेको छ । गण्डकी टेलिभिजन र आदर्श समाज दैनिकमा कार्यरत पत्रकार नारायण शाहीमाथि जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रहरीहरूले हातपात गरेका छन् ।
एक घटनाबारे बुझ्न गएका पत्रकार शाहीलाई छलफलका क्रममा अश्लिल शब्द प्रयोग गर्दै प्रहरी नायव निरीक्षकहरु पूर्णबहादुर अधिकारी र काजिमान खत्री क्षेत्रीले हातपात गरेको शाहीले जानकारी दिए । दर्जा सहितको नाम उल्लेख भएको नेमप्लेट पीन फुकाली गोजीमा राखेर असई काजिमान खत्रीले आफूमाथि हातपात गरेको पत्रकार शाहीले बताए । ‘मलाई हातपात गर्दा परिचय लुकाउन प्रहरीहरूले नेमप्लेट पिन पनि फुकालेर लुकाएका थिए’– शाहीले भने ।
हातपातपछि करिब एक घन्टा उनीहरूले नियन्त्रणमा राखेर शाहीलाई छाडेको थियो । प्रहरी नायब निरीक्षक काजिमान खत्री क्षेत्रीले आफू पनि पत्रकार भएको हवाला दिंदै पत्रकार शाहीमाथि ज्यादती गरेको थियो । ‘म पनि पत्रकार हुँ, तिमीजस्ता पत्रकारहरुलाई कति खेलाएँ, कति’ भन्दै आफूमाथि दुव्र्यहार गरेको शाहीले खेद ब्यक्त गरे । पत्रकार शाहीले आफूमाथि दूव्र्यवहार गर्ने प्रहरीमाथि बिभागीय कारवाहीको माग गरेका छन् ।
यसैबीच, पत्रकार शाहीमाथि भएको हातपातको नेपाल पत्रकार महासंघ कास्कीले भत्र्सना गरेको छ । महासंघ कास्की सचिव त्रिभुवन पौडेलले सोमबार साँझ विज्ञप्ति जारी गर्दै शाहीमाथि ट्राफिक प्रहरीले कार्यालय परिसरमै गरेको कुटपिटले समग्र पत्रकारको सुरक्षामाथि प्रश्न चिन्ह खडा गरेको उल्लेख गरेका छन् । विज्ञप्तिमा कुटपिटको तुरुन्त छानबिन गरी दोषीउपर कारबाही गर्न र आइन्दा यस्ता घटना दोहोरिन नदिन पनि माग गरिएको छ ।
यसैगरी, पत्रकार शाहीमाथि भएको प्रहरीको ज्यादतीको गण्डकी टेलिभिजनले भत्र्सना गरेको छ । गण्डकी टेलिभिजनका स्टेशन म्यानेजर अपिल त्रिपाठीद्धारा जारी बिज्ञप्तिमा भनिएको छ– आम नागरिकको सुरक्षाको मुख्य जिम्वेवार नेपाल प्रहरीबाट नै पत्रकारमाथि प्रहरी कार्यालयभित्रै गरिएको यस किसिमको हातपातले आम पत्रकारको सुरक्षामाथि गंभिर प्रश्न खडा गरेको छ । यति मात्रै नभई घटनाले प्रहरीको ब्यबहार र कार्यशैलीमाथि नै बिभिन्न आशंका उब्जाएको छ । अतः घटनाको सत्य तथ्य छानबिन गरी दोषी उपर कडा कारवाहीको लागि गण्डकी टेलिभिजन माग गर्दछ । आगामी दिनमा यस्ता खेदपुर्ण घटना दोहोरिन नदिन पनि सम्बन्धित पक्षको ध्यानाकर्षण गराउदछौ ।
यस्तै, प्रेस सेन्टर कास्कीले पनि विज्ञप्ति प्रकाशित गर्दै घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । सेण्टर कास्की अध्यक्ष विभु भुसालद्वारा जारी विज्ञप्तिमा हातपात तथा दुव्र्यवहारका दोषीलाई आवश्यक कारवाही गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराइएको छ ।
