पश्चिमाञ्चल मानव अधिकार महाभेलाको तयारी पूरा

Share:

पोखरा, २२ मंसिर-
६८ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस विविध कार्यक्रमका साथ मनाइने भएको छ ।
दिवस मनाउनका लागि पश्चिमाञ्चलमा गठित पश्चिमाञ्चल मानवअधिकार महाभेला आयोजक समितिले बुधबार पत्रकार सम्मेलनको गरी भेलाको तयारी पूरा जानकारी दिएको हो ।
मानवअधिकारको बारेमा क्षेत्रीय र राष्ट्रियस्तरमा सचेतना फैलाउन, संक्रमणकालिन न्याय, शान्ति र दिगो विकासका लागि सरोकारवाला निकाय र राज्यका संयन्त्रबीच सद्भाव वृद्धि गर्न, हिंसा न्यूनीकरण र अधिकारको संरक्षणमा जोड दिनका लागि अन्तर्राष्ट्रिय मानवअधिकार दिवसलाई विगतका केही वर्षदेखी महाभेलाका रूपमा मनाउँदै आएको वितरित विज्ञप्तिमा उल्लेख छ ।
महाभेला अन्तर्गत मंसिर २२ गते कारागार अनुगमन तथा सचेतना कार्यक्रम गरिसकेको सो अवसरमा जानकारी गराइयो । यस्तै मंसिर २३ गते बिहान ८ बजे मानवअधिकार चोकमा रक्तदान कार्यक्रम गरिने भएको छ । यस्तै दिनमा मानवअधिकार वृतचित्त प्रर्दशन, मानवअधिकार सेल्फी र मानवअधिकार हाजिरी जवाफ आयोजना गरिएको आयोजक समितिले बताएको छ ।
यस्तै मंसिर २४ गते अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका दिन बिहान प्रभातफेरी, कोषसभासहितको मानवअधिकार सेल्फी, वृत्तचित्त र साँझ दीप प्रज्वलन गरी तीन दिने महाभेला सम्पन्न गरिने महाभेला संयोजक ढाकाराम पौडेलले पत्रकार सम्मेलनमा बताए ।
सम्मेलनमा मानवअधिकार सेल्फीका बारेमा प्रष्ट पार्दै इन्सेक पश्चिमाञ्चलका संयोजक शिव खकुरेलले पछिल्लो समय सेल्फीको प्रयोग निकै भएकाले यस पटक महाभेला अन्तर्गत सेल्फी राखिएको बताए । उक्त सेल्फी अन्तर्गत महाभेला मूल आयोजक समितिले बनाएको स्टयान्डमा उभिएर सेल्फी पोष्ट गर्नेमध्येबाट जसको सेल्फी उत्कृष्ट हुन्छ त्यसलाई पुरस्कृत गरिने बताए ।
पत्रकार सम्मेलन महाभेला मूल आयोजक समितिका संयोजक ढाकाराम पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन हुर्जाका अध्यक्ष राजेश पराजुलीले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: