
पोखरा, २८ मंसिर-
पुर्व सांसद हितकाजी गुरुङको तमुवान एल्बमको तेश्रो गीत रेकर्ड गरिएको छ ।
तमुवान, मौलिक पहिचान, अधिकार, स्वाभिमान विषयवस्तु रहेको दुई गीत तयारीसँगै गीतकार एवं संगीतकार पुर्व सांसद गुरुङले तेश्रो नम्बरमा स्वागत गीतलाई रेकर्ड गराउनुभएको हो ।
गीतमा चर्चित गायक नरजङ्ग गुरुङ, सञ्चारकर्मी समेत रहनुभएकी शान्ति गुरुङ र लोक गायिका दुर्गा गुरुङले स्वर दिनुभएको छ ।
बहुभाषिक, बहुधार्मिक, बहुजातिय देशमा एउटै आमाका सन्तान विच किन विभेद ? पर्वहरु, धर्महरु माथि गरिएको भेदभाव भुल हो । नमस्कार, स्वागतम, प्रणाम छ हजुरलाई, क्होइबो र गुम्बा, चर्च र मस्जिद, मन्दिरको गजुरलाई, दाजुभाई दिदीबहिनी,आमा बा हजुरलाई लगायतका शब्दहरु रहेको स्वागत गीतमा पनि सर्वज्ञमान शाक्यले संगीत संयोजन गर्नुभएको छ । गीतको रेकर्ड पोखरा १० हस्पिटलचोकस्थित भकारी स्टुडियोमा गरिएको हो ।
“तमुवान एल्बम” तमुवान प्राप्तिका लागि जनजागरण गर्ने सांगितीक माध्यम बन्ने भन्दै तमुवान संघर्ष समिति युकेले एल्बम निर्माणमा सहयोग गर्ने उपसंयोजक सञ्जीव गुरुङले बताउनुभयो ।
पुर्व सांसद हितकाजी गुरुङको आधा दर्जन बढी गीत रेकर्ड पश्चात “तमुवान एल्बम” विमोचन गरिने तमुवान संयुक्त संघर्ष समितिका संयोजक हुमबहादुर तमुले जानकारी दिनुभयो ।
