
पोखरा, ९ पुस-
पोखरामा जारी ३० औं हप्ताको बृहत सफाइ अभियानमा सबै क्षेत्रबाट उत्साहजनक सहभागिता जनाइएको छ । पर्यटकीय क्षेत्र बैदामको हल्लनचोकदेखि बाराहीचोक, गौरीघाट, अम्बोट हुँदै पोखरा–कोमागाने मैत्रीपार्कमा रहेका प्रस्तर मूर्ति क्षेत्रसम्मको करिब ३ किमी दुरीसम्मको झण्डै ५ टन फोहोरमैल संकलन गरिएको मितेरी नारी समूहका अध्यक्ष कमला पहारीले जानकारी दिइन् ।
सफाइ अभियानमा विभिन्न निकाय र संघसंस्थाहरुले सक्रिय सहभागिता सहित ऐक्यवद्धता जनाएका थिए । ऐक्यवद्धता जनाउनेमा ३ वटै सुरक्षा निकाय, पोखरा उपमहानगरपालिका कार्यालय, मुक्तिनाथ विकास बैक, खहरे आमा समूह, मितेरी नारी समूह, जगदम्बा आमा समूह, प्रगति दिदीबहिनी समूह, नमूना आमा समूह, ढोरबाराही आमा समूह, अभियान क्लब महिला उपसमिति जिरो किलोमिटर, बैदाम महिला समाज, अन्नपूर्ण आमा समूह, सामुदायिक सेवा केन्द्र बैदाम, महिला सशक्तिकरण नेपाल, नेपाल रेडक्रस सोसाइटी उपशाखा बैदाम, वडा नागरिक मञ्चलगायतले सहभागी थिए ।
यसअघि ग्रिनमार्ट प्रालिका प्रबन्ध निर्देशक सुजन गुरुङले सफाइ अभियानका लागि ७ सय जोर ग्लोव, ७ सय थान मास्क हस्तान्तरण गरेको अभियन्ता धीरज थापाले जानकारी दिए । कार्यक्रमको शुभारम्भसँगै उपस्थित सहभागी र अभियन्ताहरुलाई अग्रज पर्यटन व्यवसायी वासु त्रिपाठीले सपथ गराएका थिए । पोखरा–कोमागाने मैत्रीपार्कअन्तर्गतमा प्रस्तर मूर्तिकला क्षेत्र वरिपरि सफाइ कार्यक्रमलगत्तै सामाजिक अभियन्ता एवं महिला सशक्तिकरण नेपालका संरक्षक लक्की क्षेत्रीले सहभागीलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।
कार्यक्रमको अन्त्यमा वडा नं. ६ अन्तर्गतका क्रियाशील संघसंस्थाको तर्फबाट सरसफाइ सम्बन्धी विभिन्न विधामा उत्कृष्ट संघसंस्थालाई मायाको चिनो प्रदान गरिएको अभियन्ता सूर्यनाथ पहारीले जानकारी दिए । ३१ औं हप्ताको सफाइ अभियान वडा नं. ७ अन्तर्गत फेवामार्गको बुलौंदीखोलाबाट सुरु गरिने अभियन्ता ठाकुरप्रसाद बरालले बताए ।
