
लेखनाथ, २३ माघ-
“महोत्सव लेखनाथको सस्कृति, स्थानीय उत्पादन, विकास र संमृद्धि” भन्ने मुल नाराका साथ लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजना तथा विभिन्न संघ संस्थाहरुको सहयोग र सहभागितामा माघ २७ गते देखी फागुन ८ गते सम्म संचालन हुने पश्चिमाञ्चल क्षेत्रिय औद्योगिक व्यापार मेला तथा लेखनाथ महोत्सव २०७३ को मुख्य आकर्षणको रुपमा रहेको खुल्ला कविता प्रतियोगिताको कविता वाचन कार्यक्रम शनिवार सम्पन्न भयो ।
खुल्ला कविता प्रतियोगिताका संयोजक ई. वसन्तमोहन शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि एवं वरिष्ठ साहित्यकार तिर्थ श्रेष्ठले कवि शिरोमणी लेखनाथ पौडेलकोे सम्मान एवं लेखनाथ महोत्सवको पुर्व सन्ध्यामा कविता प्रतियोगिता हुनु सकरात्मक रहेको र आगामी वर्षमा नेपाल अधिराज्य भरिका कविहरुलाई एकै थलोमा राखेर कवि महोत्सव गर्ने उद्घोष गर्नुभएको थियो ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, लेखनाथ साहित्यीक प्रतिष्ठानका अध्यक्ष पदमराज ढकाल, लेखनाथ उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष वलराम ढकाल, तारा पोख्रेल लगायतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
उक्त प्रतियोगितामा विक्रम परियार प्रथम, छविलाल आचार्य द्धितीय, मदन घिमिरे तृतीय र रोजिना आचार्य क्षत्री, आश्रान्त पहारी, दुर्गा न्यौपाने, सविना पौडेल, चन्द्रप्रकाश सुवेदीले सान्तवना स्थान हासिल गरेका थिए । उक्त पुरस्कृत कविहरुलाई लेखनाथ महोत्सवमा पुरस्कृत गर्ने संयोजक भट्टराईले जानकारी दिनूभयो ।
