सुन भन्दै तामा बेचेर ठगी (भिडियोमा हेर्नुहोस् नक्कली सुनभित्र के के रहेछ ?)

Share:

रञ्जन अधिकारी पोखरा, १ असोज / तामा र जिंक धातुलाई सुनको जलप लगाएर सुन भन्दै ठग्नेहरु पक्राउ परेका छन् । कास्की प्रहरीले नक्कली सुन देखाई ठगी गर्ने चार जनालाई आईतबार सार्वजनिक समेत गरेको छ ।

गत भदौ ३० गते पक्राउ परेका तनहुं म्याग्दे गाउपालिका वडा नं २ बस्ने ३९ वर्षीय रबिराज खनाल र बाग्लुङ बुर्तिबाङ २ घर भई ढोरपाटन नगरपालिका २ सलाङकोट बस्ने ५० वर्षीय छम बहादुर खत्री (के.सी.) लाई सार्वजनिक गरेको छ । यस्तै, लम्जुङ जिल्ला साविक खुदी गा.वि. स. हाल मस्र्याङ्दी गाउपालिका वडा नं. ३ घर भएका २९ वर्षीय राजु तामाङ र सुन्दर बजार न.पा.वडा नं.८ बलथुम बस्ने ५४ वर्षीय प्रेम बहादुर परियारलाई पनि सुनको मुर्ती भन्दै ठगी प्रकरणमा पक्राउ गरेकोमा सार्वजनिक गरिएको छ ।

खनाल र खत्रीले सुन जस्तो देखिने डेढ किलो पहेलो धातुलाई सुन भनेर बेचखविखन गर्न खोजेका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरिक्षक खड्गबहादुर खत्रीका अनुसार पक्राउ परेका खनालले नक्कली सुन पोखरा ल्याई बेचबिखन गर्ने कुराकानी गरेकै व्यक्तिले यस प्रकरणबारे कुरा खोलेका थिए । सुराकी दिने व्यक्ति र खनालबीच नक्कली सुन १६ लाख मूल्यमा बेच्ने कुरा पक्कापक्की भएपछि खनाल पोखरा आए । त्यसपछि छम बहादुर खत्रीसँग भेटघाट भयो । खत्री नुवाकोटमा पुगी पिपलडाडा ७ बस्ने ६५ वर्षीय राम बहादुर लिम्बु भेटे । सुन बिक्री भएपछि तीन लाख दिने शर्तमा सामान पोखरामा खनालकहाँ पु¥याउन आउँदै गर्दा बाटैमा प्रहरी फन्दामा परे ।

पोखरा ३२ राधाकृष्णटोलबाट खनाल र खत्री सो सामान सहित पक्रिए । प्रहरीले सुन नै हो कि ? के हो भन्नेबारे आईतबार मात्र परीक्षण पश्चात पुष्टि भएको जानकारी दिएको छ । ८५ प्रतिशत तामा, जिंक र सुनको लेपन लगाईएको पाईएको खत्रीले बताए ।

सुन भन्दै ठगी गरेर १५ दिन अघि समातिएका तामाङ र परियारकै घटनामा अनुसन्धान गर्ने क्रममा खनाल र खत्री समेत संलग्न भएको भेटिएपछि सुराकीकै आधारमा पक्राउ गर्न सफल भएको प्रहरी प्रवक्ता खत्रीले जानकारी दिए ।

गत भदौ १९ गते पोखरा लेखनाथ २६ बुढीबजार निबासी सरस्वती गुरुङले सुन जस्तो देखिने पहेंलो धातुको मुर्तिलाई सुनको मुर्ति हो भनेर छ लाख ६५ हजार रुपैंया ठगेको भन्दै जाहेरी दिएकी थिईन् । सो घटनामा संलग्न तामाङ र परियारलाई पक्राउ गरिएको थियो । जिल्ला प्रहरी कार्यालय कास्की, प्रदेश नं. ४ प्रहरी कार्यालय, डाँडाको नाक प्रहरी चौकीको सक्रियतामा ठगहरु पक्रिएको प्रहरीले जनाएको छ ।

ठगी घटनामा संलग्न अन्य ब्यक्तिहरु समेत भाग्न र उम्कन सक्ने हुँदा अनुसन्धान अवधिभर सार्वजनिक नगरिएको प्रवक्ता खत्रीले बताए । पक्राउ परेकाहरुलाई कास्की जिल्ला अदालतबाट ठगी मुद्वामा म्याद थप गरी अनुसन्धान कार्य भई रहेको उनले जनाए ।

भिडियोमा हेर्नुहोस् नक्कली सुनभित्र के के रहेछ ?

https://youtu.be/fnEiGnPBn0o

कमेन्ट गर्नुहोस्
Share: