लोकतान्त्रिक सँस्कारलाई संस्थागत गर्न काँग्रेसलाई भोट : गुरुप्रसाद बराल

558
0
Share:

बिग न्यूज
पोखरा, २२ कात्तिक । नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर २ (ख)का प्रादेशिक उम्मेदवार गुरुप्रसाद बरालले एमाले र माओबादी संविधानको हत्यारा भएको बताएका छन् । उनले यी दुई वामपन्थी पार्टीको तर्फबाट ४ पटकसम्म सरकारको नेतृत्व गर्दा पनि देशलाई गति दिन नसकेको आरोप लगाए ।

काँग्रेस कास्की क्षेत्र नम्बर २ को सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्ता संविधान विरोधी पार्टीलाई भोट हाल्न जनताको हात काम्नुपर्ने बताए । ‘यीनै वामपन्थीहरुले नै पहिलो संविधानसभाको हत्या गरेका हुन् । र, अहिले पनि यीनीहरु संविधान रोक्ने प्रपञ्च रचिरहेकै छन् ।’ बरालले भने–‘वाम गठबन्धनको नाटक यहि गलत सोँच सहित रचिएको हो ।’ उनले जनतालाई सहि सँस्कार छान्न आग्रह समेत गरे ।

यद्यपी काँग्रेसले संविधान बनाउन र यसलाई संस्थागत गराउनका लागि निकै ठुलो भुमिका खेलेको उनले बताए । ‘यदि काँग्रेसको अग्रसरता नहुँदो हो त देशलाई यी दुई वामपन्थी भनाउँदाहरुले उहिल्यै सिध्याईसकेका हुन्थे ।’ बरालले भने ।

‘नेपाली काँग्रेसले नै जनतामा लोकतान्त्रिक सँस्कार बसाएको हो । र, यसलाई संस्थागत गर्न नेपाली काँग्रेस लागिपरेकै छ ।’ उनले भने–‘तर अहिले गठबन्धनको नाममा वामपन्थीहरुले झुटको खेती गरिरहेका छन् ।’ उनले वामपन्थीहरुको अहिलेको विचारलाई ‘स्यालको हँुकार’को संज्ञा दिए । यद्यपी नेपाली काँग्रेसलाई उनले हात्तिको रुपमा व्याख्या गरे ।

उनले अस्थिर राजनीतिको पक्षपोषणमा वामपन्थीहरु लागिरहेको र उनीहरु जुनसुकै बेला जे पनि हुन सक्ने भएकोले स्थिर राजनीतिका लागि काँग्रेसलाई जिताउन उनले अपिल गरे । ‘अस्थिरताको जड रोज्ने कि स्थिर काँग्रेसलाई भोट गर्ने ? यो कुरा भने जनताले छुट्टाउन आवश्यक छ ।’ बरालले भने । राजनीतिक स्थिरता र आर्थिक सम्बृद्धिका लागि नेपाली काँग्रेसले जित्न आवश्यक रहेको भन्दै वामपन्थीहरुको ‘हावा गफ’मा नफकिन उनले जनतासमक्ष आग्रह गरे ।

‘कम्युनिष्टहरु देशविरोधी हुन्, उनीहरुबाट देशले निकाश पाउँदैन ।त्यसैले देशको सम्बृद्धि र लोकतान्त्रिक सँस्कारको लागि काँग्रेसको विकल्प कुनै दल पनि छैनन् ।’ बरालले भने ।

कमेन्ट गर्नुहोस्
Share: