
पोखरामा ईक्यान फेयर शुरु भएको छ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले बैदेशिक शिक्षाका लागि बिदेश जान चाहने विद्यार्थीलाई लक्षित गरेर आयोजना गरेको ‘इक्यान शैक्षिक मेला’ बुधबारदेखि शुरु भएको हो । पोखरा सभागृहमा मंसीर २८ गतेसम्म जारी रहने फेयरको गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवरले उद्घाटन गरे ।
प्रदेश प्रमुख कुँवरले नेपालका राजनीतिज्ञ र विद्वानहरुले मीठा भाषण गरेपनि त्यो ब्यबहारमा नउतार्दा देशको अवस्था यो हालतमा पुगेको बताए । ‘हाम्रो देशका राजनीतिज्ञ र विद्वानहरु बोल्छन् मात्रै, ब्यबहारमा उतार्दैनन्, त्यहि भएर देशको अवस्था यो हालतमा आईपुगेको छ ।’ उनले भने,‘विकास र समृद्धि अहिलेको जसरी आउन सक्दैन, त्यसका लागि त विधिको शासन हुनुपर्छ, तर हाम्रोमा संविधान र कानून बनाउने तर कार्यान्वयन नगर्ने स्थिति छ, जसले संविधान र कानुन बनायो त्यसैले पालना नगर्ने परम्परा छ, यसरी त न विकास हुन्छ न त समृद्धि नै आउँछ ।’
हरेक पेसा व्यवसायको व्यावसायिक मर्यादा कायम राख्नुपर्ने भन्दै प्रमुख कुँवरले सरकारको नीति नियमलाई आत्मसात् गरी शैक्षिक विकासमा लाग्न आग्रह गरे । बैदेशिक शिक्षा दिने शैक्षिक परामर्श केन्द्रहरुलाई विदेश जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श दिने क्रममा देशभक्ति र राष्ट्रियताबारेपनि काउन्सिलिङ गर्न आग्रह गरे । अध्ययन सकेपछि पनि बिदेश बस्नु नेपालको लागि हितकर नहुने भन्दै उनले अध्ययन सकेर नेपाल र नेपालीको हितका लागि राष्ट्रियता र देशभक्ति देखाएर फर्कनुपर्छ भन्ने भावना जगाउनुपर्ने बताए ।
‘सुविधा पाउने वित्तिकै विदेशमै बस्नुपर्छ भन्ने होइन । देशमै आएर केही गर्न सके मात्रै नेपाली भइन्छ’, उनले भने ‘नेपालको निम्ति केही गर्न नसक्ने नेपाली हुँदैन । मातृभूमिको सेवा गर्न सकिएन भने अध्ययन गरेर मात्रै पनि काम छैन । शिक्षित होऔं, दिक्षित होऔं र देशमै फर्किऔं ।’ विदेशमा बसेर दिएको सन्देशले समाज नसुध्रिने उनको भनाइ थियो ।
नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)का केन्द्रीय अध्यक्ष विष्णुहरि पाण्डेले नेपालमा शिक्षामा प्रत्यक्ष बैदेशिक लगानी भित्राउने षड्यन्त्र भइरहेको भन्दै त्यो कदापी स्विकार्य नहुने चेतावनी दिए । उनले भने, ‘यहाँ हामी नै शैक्षिक परामर्श दिन सक्षम छौं, तर जबरजस्ती रुपमा फरेन डाइरेक्ट ईन्भेष्टमेन्ट (एफडिआई)को लगानी भित्राउने प्रयास भइरहेको छ, यसको विरोध गर्छौं, जबरजस्ती गरे प्रतिवाद गर्छौं र कुनैपनि हालतमा भित्राउन दिदैनौं ।’
पाण्डेले शैक्षिक परामर्श संस्थाहरुलाई एउटै मापदण्डमा डोर्याउनका निम्ति राज्यले पनि भूमिका खेल्नुपर्ने जनाए । उनले आफूहरु स्वस्थ हिसाबले ब्यबसाय गर्न खोजेको बताउँदै नीति निर्दे्शिका बनाएर शैक्षिक परामर्श दातृ संस्थाहरुलाई बाँध्न सकिने उल्लेख गरे । अध्यक्ष पाण्डेले शिक्षा मन्त्रालयबाट स्विकृति प्राप्त र ईक्यानमा आबद्धबाहेक अन्यले शैक्षिक केन्द्र खोल्न नपाउने नियम बनाउनका लागि पहल भइरहेको जानकारी दिए ।
बजारमा हुने व्याप्त अराजक गतिविधिलाई नियन्त्रण गर्न इक्यानको आचारसंहिताले केहि हदसम्म प्रयास सम्भवी देखिएपनि राज्यको समन्वय ठिक ढंगले हुन सके कन्सल्टेन्सी व्यवसाय पारदर्शी हुनेमा आफू ढुक्क रहेको सुनाए । उनले नेपाललाई शैक्षिक हब बनाउन सकिने बताए । ठूलठूला लगानीमा शैक्षिक कलेज तथा विश्वविद्यालय खोलेर विदेशबाट नेपालमा अध्ययनका लागि आउनेसक्ने वातावरण बनाउन सकिने उनको भनाई थियो ।
ईक्यानका केन्द्रीय महासचिव शेषराज भट्टराईले स्वार्थ समूहले ईक्यान फुटाउन खोजेको भन्दै सबै सचेत हुनुपर्नेमा जोड दिए । उनले केहि पहिलेसम्म नेपालका औंलामा गनिने परिवारका छोराछोरी मात्र अध्ययनका लागि विदेश जानसक्ने अवस्था रहेपनि शैक्षिक परामर्श दातृ संस्थाकै कारण अहिले सामान्य वा मध्यम परिवारका छोराछोरीहरु पनि शिक्षाका लागि विदेश जानसक्ने वातावरण बनेको बताए ।
इक्यान कास्की अध्यक्ष भुवन क्षेत्रीले सफा नियत, समुदायप्रति उत्तरदायित्व र कानुनको अधिनमा रहि व्यवसाय गर्नुपर्ने बताए । कार्यक्रममा ब्रिटिस काउन्सीलका सुमित बज्रचार्यले मन्तब्य राखेका थिए ।
इक्यान कास्की अध्यक्ष क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव रुद्रप्रसाद अर्यालले गरेका थिए भने स्वागत कार्यक्रम संयोजक तथा संस्थाका उपाध्यक्ष सन्दिप अर्यालले गरेका थिए ।
तीन दिनसम्म चल्ने शैक्षिक मेलामा पेभेलियनसहित ७० वटा स्टल रहेका छन् । अमेरिका, बेलायत, न्युजिल्याण्ड, अष्ट्रेलिया, आयरल्याण्ड, नर्वे, फिनलल्याण्ड, जर्मनी, डेनमार्क, फ्रान्स, जापान, भारत, चीन, बंगलादेशलगायतका देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधि मेलामा प्रत्यक्ष सहभागी हुने ईक्यान कास्कीका अध्यक्ष भुवन क्षेत्रीले जानकारी दिए । एउटै छानामुनी विश्वभरका नामी कलेजहरुले दिने शिक्षा, छात्रवृत्ति तथा सम्बन्धित देशको अवस्था, भिसा प्रोसेसलगायतबारे जानकारी दिने उद्धेश्यले मेला आयोजना गरिएको उनले बताए ।
शैक्षिक मेलामा विद्यार्थीसहित अभिभावकपनि सहभागी गराउने उद्धेश्यले मेला निःशुल्क गरिएको ईक्यान कास्कीका उपाध्यक्ष तथा मेला संयोजक सन्दीप अर्यालले बताए । उनले मेलामा बढी भन्दा बढी सहभागि गराउने उद्धेश्यले पोखराका विभिन्न कलेज पुगेर मौखिक जानकारी गराउनुका साथै पर्चा पम्प्लेटसमेत वितरण गरिएको जानकारी दिए ।
गण्डकी प्रदेश स्तरीय शैक्षिक मेलाबाट १० लाख संकलन गरेर ८ खर्च गरी २ लाख बचत गर्ने लक्ष्य रहेको ईक्यान कोषाध्यक्ष प्रकाश गैह्रेले जनाए ।
ब्रिटिस काउन्सिलको प्रस्तुतिमा हुने मेलाको टाइटल स्पोन्सरमा अष्ट्रेलियास्थित सिड्नी सिटी कलेज अफ म्यानेजमेन्ट, एसोसिएट पार्टनरमा हिमाअस एजुकेसन कन्सल्टेन्सी छन् । पावर्डबाईमा केआइइसी र कंगारु एजुकेसन फाउण्डेसन छन् । प्रोमोटेडबाईमा अष्ट्रेलियाका कलेजहरु प्यासिफिक कलेज अफ टेक्नोलजी, स्काई लाइन इन्टरनेशनल कलेज, भाइब कलेज र मिन्ट इन्टरनेशल कलेजले साथ दिएका छन् ।
सपोर्टेडबाईमा मिराकल इन्स्टिच्युज, द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी, जाइन्ट इजुकेशन, नमस्ते एजुकेशन इन्स्टिच्युट, एनमार्क एजुकेसन, टार्गेट इन्टरनेशनल एजुकेसन, इम्पल्स इन्स्टिच्युट, एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस, विकन प्रिमियर इन्टरनेशनल एजुकेसन र थर्डआई एजुकेसन रहेको इक्यान कास्कीले जानकारी गराएको छ । मेलाका रेडियो पार्टनरमा बिग एफएम रहेको छ ।


