विवेकशील साझामा महिलाको लहर, लमजुङ राईनास वडा ७ समितिमा महिला मात्र

476
0
Share:

लम्जुङ । पार्टी निर्माणको केहि समयमै निर्वाचनमा होमिएको विवेकशील साझा पार्टी प्रमुख बैकल्पिक शक्तिका रुपमा उदायो । पार्टीले संगठन विस्तारको गतिलाई तिब्रता दिएसँगै पार्टीको पूर्णकालिन सदस्यता लिने क्रम बढेको छ ।

आफ्नो क्षेत्रमा स्थापित व्यक्तित्वहरुले पनि शुभेच्छा र सहयोग गरिरहेको पार्टीका नेताहरु बताउँछन् । त्यसैकारण पनि पार्टी पंक्ति निकै उत्साहित छन् । महिलाहरु पनि पार्टीप्रति सकारात्मक मात्र छैनन्, पार्टीका अभियानमा लागिपरेका छन् । लमजुङको एक वडामा त महिलाकै अग्रसरतामा समिति नै बनेको छ ।

लमजुङ जिल्लाको राइनास नगरपालिका वडा नं. ७ गरमबेसीमा एलिना चिलुवालको संयोजकत्वमा विवेकशील साझाको १७ सदस्यीय महिलामात्र सम्मिलित वडा समिति गठन गरिएको छ । उक्त अवसरमा पुरुषहरु सहित २५ भन्दा बढिले पार्टी सदस्यता नै लिए ।

उक्त अवसरमा पार्टीका दुई नेताहरु रमेश चिलुवाल र निर्देश सिलवालले पार्टीका भावी योजनाका बारेमा प्रकाश पारेका थिए । अहिले विवेकशील साझा पार्टी देशव्यापी संगठन विस्तारको अभियानमा छ । २०७५ सालमा एक लाख सदस्य पु¥याउने लक्ष्य सहित संगठन वर्ष मनाउँदै गरेको यो पार्टीले भर्खरै ७ वटै प्रदेशमा प्रशिक्षण अनि संगठन विस्तारको तालिम सकेको छ ।

गण्डकी प्रदेशमा पनि महेश भण्डारीको संयोजकत्वमा प्रदेश कमिटि बनाएर जिल्ला कमिटिलाई पूर्णता दिन अन्तिम कसरतमा लागिरहेको छ ।

गत वर्ष सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा नेकपा, कांग्रेस र २ दुई मधेशवादी दलहरु पछि सबैभन्दा बढी मत ल्याएको विवेकशील साझा पार्टीलाइ अहिले सशक्त वैकल्पिक शक्तिको रुपमा लिइएको छ । पार्टी संयोजक रविन्द्र मिश्रले पार्टी एकता हुनासाथ विना तयारी चुनावमा होमिदाँ समेत जनताको मनग्ये माया पाएको स्मरण गर्दै अबको ५ वर्षमा वैकल्पिक होइन, निर्विकल्प पार्टी बन्ने बताउँदै आएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: