
पुस ३०, पोखरा। मणिपाल शिक्षण अस्पतालमा डेढ वर्षदेखि तलबभत्ता बृद्धिको माग राख्दै चलेको मजदुर विवाद सल्टिएको छ । अब सो अस्पतालमा काम गर्ने श्रमिकको तलब ४० प्रतिशतले बढेको छ । अर्थात् हरेक तहको श्रमिकले खाँदै आएको तलबमा ३६ सय ५० रुपैयाँ थप भएको छ ।
नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन मणिपालका अध्यक्ष अमृतबाबु पौडेलले लामो मेहनतपछि बल्ल अस्पताल प्रशासनले आफूहरुको माग सम्बोधन गरेको बताए । श्रम ऐनले व्यवस्था गरे अनुसार १३ हजार ७ सय ५० रुपैयाँ तलब खानेको ३६ सय ५० थप भएपछि १७ हजार ४ सय रुपैयाँ पुगेको छ । योभन्दा बढी तलब पाउने श्रमिकको पनि ३६ सय ५० थप भएको छ । यस आधारमा जुनसुकै तहका कर्मचारीको समान रुपले तलब बृद्धि भएको छ ।
अस्पतालका मजदुरहरु २०७४ साउनदेखि तलबभत्ता बृद्धि, बिदा सञ्चिति बढाउनुपर्ने, आवास सुविधा लगायतको माग राख्दै आन्दोलन गर्दै आएका थिए । त्यस बीचमा सरोकारवाला र अस्पताल प्रशासनसँग पटक पटक वार्तामा वस्दा पनि आफुहरुको माग सम्बोधन हुन नसकेको पौडेलले बताए । स्थानीयस्तरको पहलले परिणम दिन नसकेपछि श्रमसम्बन्धी समस्या टुङ्गो लगाउन श्रम मन्त्रालयले श्रम विभागलाई निर्देशन दिएको थियो ।
श्रम विभागको पहलमा अस्पताल प्रशासन, श्रमिक, उद्योग वाणिज्य महासंघको प्रतिनीधि, कर्मचरा ट्रेड युनियनका कर्मचारी लगायतको उपस्थितीमा वार्ता भएको थियो । श्रमिकको अधिकांश माग सम्बोधन भएको छ । विदा सञ्चितिको व्यवस्था र अन्य व्यवस्था भने श्रम ऐन अनुसार नै गर्ने सहमति भएको छ ।
विवाद समाधानका लागि गत कात्तिक ११ गते महान्यायाधिवक्ताको कार्यालयका अधिकृत श्रीराम खनालको नेतृत्वमा ट्रेड युनियनका तर्फबट नविन अधिकारी र पोखरा उद्योग वाणिज्य संघका तर्फबाट तत्कालिन अध्यक्ष विश्वशंकर पोखरेल सहितको अधययन टोली गठन भएको थियो । सो टोलीले सहमतिमा आउन प्रतिवेदन पेश गरेको थियो । तर सहमति नभएपछि श्रम मन्त्रालयले सक्रियता देखाएको हो ।
SOURCE:RATOPATI
